Sajhamanch Archive

निर्वाचन परिणामले मुलुक अस्थिरतातर्फ जाने खतरा : एमाले अध्यक्ष ओली

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by .

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मत परिणामले मुलुक अस्थिरतातर्फ धकेलिने खतरा बढेको बताएका छन् ।

निर्वाचनले मुलुकलाई स्थायित्व र स्थिर सरकार बनाउने आशा गरिए पनि त्यसो हुन नसकेको उनको टिप्पणी छ । आज झापा क्षेत्र नम्बर ५ को निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचित भएको प्रमाणपत्र लिएपछि संक्षिप्त सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचनको परिणाम सुखद् नभएको बताएका हुन् ।

मंसिर ४ गते सम्पन्न चुनावमा कसैको बहुमत नआउने भएपछि त्यसले सरकार गठनमा असर पर्ने र देशलाई दुर्घटनातिर लैजाने खतरा बढ्ने ओलीको भनाई छ । अध्यक्ष ओलीले निर्वाचन परिणामले सुरुवातदेखि नै दल तथा सांसदहरुको मोलमोलाई सुरु हुने दाबी पनि गरेका छन् ।

‘निर्वाचनपछि मुलुकमा स्थिर सरकार बन्छ । मुलुकले एउटा दिशा पाउछ भन्ने आशा थियो । तर, त्यसो भएन । अहिलेसम्मको परिणामले कुनै पनि दलको बहुमत नपुग्ने भयो । यसले निर्वाचनपछिको सरकार बनाउनै मुस्किल हुने अवस्था छ । फेरि पनि सुरुदेखि नै दलहरुको मोलतोल र सांसदहरुको भाउ कसेर किनबेच चल्ने भयो’ अध्यक्ष ओलीले तर्क प्रस्तुत गरेका छन् ।

अब बन्ने सरकारले फेरि पनि मुलुक र जनताको लागि काम गर्न नसक्ने दाबी गर्दै एमालेका अध्यक्ष ओलीले भने ‘अब बन्ने सरकारले फेरि पनि जनता र मुलुक विकासको काम गर्न नसक्ने भयो । बहुमतको सरकार नबन्ने भएपछि दलहरु आफ्नो सरकार जोगाउन सांसदको मोलतोल, लेनदेन र भागबन्डा मै लाग्दा ठीक्क हुन्छ ।’

उनले अब सरकार बनाउन र जोगाउन योग्यताभन्दा पनि टाउका हेरेर मोलतोल गर्नुपर्ने अवस्था सिर्जना भएको बताउनु भयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *