सत्तारुढ गठबन्धनका उम्मेदवारलाई कांग्रेसले धोका दिएकै हो !
Published:
by .झापा । २०७४ सालको प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यको चुनावमा झापामा निल भएको नेपाली कांग्रेसले यसपटक खाता खोलेको छ ।
२०७४ सालको प्रतिनिधि सभा सदस्यको चुनावमा नेकपा (एमाले–माओवादी) र राप्रपाको गठबन्धनले झापा कव्जा गरेको थियो ।
झापा क्षेत्र नं. १ मा राम कार्की, २ मा पवित्रा खरेल, ३ मा राजेन्द्र लिङ्देन, ४ मा एलपी साँवा र ५ मा केपी शर्मा ओली प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए । प्रदेशमा पनि गठबन्धनले नै जितेको थियो ।
भर्खरै सम्पन्न आम निर्वाचनमा झापामा नेपाली कांग्रेस निल हुनबाट जोगिएको छ भने नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टी निल भएका छन् ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा झापामा कांग्रेसले प्रतिनिधिसभा सदस्यमा एउटा र प्रदेशसभा सदस्यमा २ वटा सिट मात्र हात पारेको छ ।
झापा क्षेत्र नं. १ बाट कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधि सभा सदस्यको एक सिट सुरक्षित गरेका छन् । कांग्रेसबाट प्रदेश सभा सदस्यमा झापा १ (१) बाट गोपाल तामाङ तथा झापा ३ (१) बाट भूमि राजबंशी निर्वाचित भए ।
नेकपा माओवादी केन्द्रले झापाबाट प्रदेशसभा सदस्यमा ४ जना र एकिकृत समाजवादी पार्टी (एस)ले १ जना उम्मेदवार उठाएको थियो ।
माओवादीले झापा १ (२)मा श्यामबिर लिम्बु, झापा ३ (२) मा पूर्णप्रसाद राजबंशी, झापा ४ (१) मा झलकबहादुर मगर र झापा ५ (२) मा रेवतराज पुरी (गगन)लाई उम्मेदवार बनाएको थियो । ती चारैजना उम्मेदवार पराजित भएका छन् ।
यता एकिकृत समाजवादी पार्टीले झापा २ (१) बाट पुष्पराज पोखरेललाई उम्मेदवार बनाएको थियो । उनी पनि पराजित भए । सत्ता गठबन्धन दलमा रहेका कांग्रेस बाहेकका यी दलहरुले झापामा एक सिट पनि ल्याउन सकेनन् ।
झापामा कांग्रेससँग सहकार्य गरेर जित्ने आशामा रहेका माओवादी र एसले एक सिट पनि आफ्नो हातमा नपरेपछि कांग्रेसले धोका दिएको विश्लेषण गर्न थालेका छन् । बाम गठबन्धनमा रहेको कांग्रेसले माओवादी र एसका उम्मेदवारलाई मत नदिएको गठबन्धन भित्रै चर्चा सुरु भएको छ ।
कांग्रेसका लागि एकमत पनि तल माथि नहुने गरी सबै खन्यायौँ । तर, कांग्रेसले ठूलो धोका दिएको माओवादी र एसका नेता तथा कार्यकर्ताहरुले टिप्पणी गरेका छन् ।
यस्तै, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, हाम्रो नेपाली पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, लोकतान्त्रिक समाजवादी पार्टी लगायतका साना दलहरुले पनि एक सिट ल्याउन सकेनन् ।
झापामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एउटा प्रतिनिधिसभा सदस्य र २ वटा प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएको थियो । तीनैवटा सिटमा राप्रपा विजयी भएको छ ।
झापा ३ बाट प्रतिनिधिसभा सदस्यमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन तथा झापा १ (२) बाट राप्रपा मेचीनगरकी अध्यक्ष सबिना बजगाई र झापा ४ (२) बाट राप्रपाका प्रवक्ता भक्ति सिटौला निर्वाचित भएका छन् ।
नेकपा एमालेले झापा ५ तथा (१ र २), झापा ४ तथा (१), झापा ३ (२), झापा २ तथा (१ र २) को प्रतिनिधि तथा प्रदेशसभा सदस्यमा विजयी भएको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट प्रतिनिधि सभा सदस्यमा, प्रदेश सभा १ र २ बाट हिक्मतकुमार कार्की र होमबहादुर थापा, झापा ४ बाट प्रतिनिधि सभा सदस्यमा एलपी साँवा तथा प्रदेश सभा १ मा राधाकृष्ण खनाल, झापा ३ (२) मा छविलाल चुँडाल, झापा २ बाट प्रतिनिधि सभामा देवराज घिमिरे तथा प्रदेश सभा १ र २ मा क्रमशः एकराज कार्की र चिन्तन पाठक विजयी भएका छन् ।
Comments