झापा २ र ४ मा निर्वाचित उम्मेदवारहरुलाई विजयीको प्रमाणपत्र हस्तान्तरण
Published:
by .झापा । मंसीर ४ मा भएको मतदानको मत परिणाम आएसँगै निर्वाचन अधिकृतको कार्यालयहरुले विजयी उम्मेदवारहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका छन् । सोहीक्रममा झापा निर्वाचन क्षेत्र नं. २ र ४ मा शनिबार प्रमाणपत्र गरिएको हो ।
झापा निर्वाचन क्षेत्र नं. २ को कार्यालय रहेको अर्जुनधारा नगरपालिका कार्यालय र क्षेत्र नं. ४ को निर्वाचन अधिकृतको कार्यालय रहेको कनकाई नगरपालिका कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरी निर्वाचित उम्मेदवारहरुलाई प्रमाण पत्र वितरण गरिएको हो ।
झापा निर्वाचन क्षेत्र नं.४ का निर्वाचन अधिकृत प्रकाश गौतमको अध्यक्षता एवं झापाका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीको प्रमुख आतिथ्यमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
निर्वाचन अधिकृत गौतमले झापा ४ बाट प्रतिनिधि सभा सदस्यमा लालप्रसाद साँवालाई निर्वाचित भएको घोषणा गर्दै प्रमाणपत्र हस्तान्तरण गरे । त्यस्तै प्रदेश सभा क्षेत्र नंं. ४ (१) मा राधाकृष्ण खनाल र क्षेत्र नं. ४(२) मा भक्तिप्रसाद सिटौलालाई निर्वाचित भएको घोषणा गर्दै प्रमाण पत्र हस्तान्तरण गरिएको छ ।
विजयी तीनैजना उम्मेदवारहरुलाई झापाका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवाली, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, नेपाली कांग्रेसका प्रतिनिधि शिवकुमार कडेल लगायतले कार्यकाल सफलताको कामना गरे ।
नवनिर्वाचित प्रतिनिधि सभा सदस्य लालप्रसाद साँवा र प्रदेश सभा सदस्यहरु राधाकृष्ण खनाल र भक्तिप्रसाद सिटौलाले शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्ने सबै राजनीतिक दल, सुरक्षा निकाय, सञ्चारकर्मी लगायत सम्पूर्ण कर्मचारीहरुमा धन्यवाद ज्ञापन गरेका थिए ।
यस्तै निर्वाचन क्षेत्र नं. २ मा निर्वाचन अधिकृत, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी एवम् विभिन्न राजनीतिक दलका नेताहरुको उपस्थितिमा विजयी तीनै जनालाई प्रमाणपत्र प्रदान गरिएको हो ।
Comments