लोकप्रिय मत एमालेलाई, पछ्याउँदै कांग्रेस
Published:
by .झापा । सम्पन्न हुनै लागेको आम निर्वाचनमा यो पटक कुन पार्टीले लोकप्रिय मत प्राप्त गर्यो ? यसको मानक के हो भन्ने जिज्ञासा सबैलाई लागिरहेको हुनसक्छ । यसका लागि प्रतिनिधिसभाको समानुपातिकतर्फको मत परिणामलाई लोकप्रियको मानक बनाइएको छ ।
देशभर यतिबेला समानुपातिक तर्फको मत गणना जारी छ । आज बिहानसम्म प्राप्त मत परिणाम अनुसार ८३ लाख ६३ हजार ६८३ मत गणना भएको छ। जसमा नेकपा एमालेले सबैभन्दा धेरै २३ लाख ४ हजार ४४९ मत प्राप्त गरेको विवरण छ । यसको आधारमा हेर्दा नेकपा एमालेले लोकिप्रिय मत प्राप्त गरेको बुझ्न सघाउँछ ।
प्रत्यक्षतर्फ निर्वाचित उम्मेदवारहरुले प्राप्त गरेको मतभन्दा समानुपातिकमा प्राप्त मत फरक परिरहेको जारी मतगणनाको तथ्याङ्कले देखाएको छ । प्रत्यक्षतर्फ नेपाली कांग्रेसले प्रतिनिधिसभामा ५३ स्थान जितिसकेको छ भने नेकपा एमालले ४१ स्थानमा मात्र विजय हासिल गरेको छ । तर समानुपातिकमा प्राप्त मतको आधारमा हेर्दा नेकपा एमालेले नै लोकप्रिय मत पाएको देखाउँछ । पछिल्लो मत परिणाम अनुसार एमालेको भन्दा कांग्रेसले ९६ हजार ९२२ मत कम पाएको छ ।
आज आइतबार बिहानसम्मको मतगणना अनुसार नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतले क्रमशः एमालेको भन्दा कम मत पाएका छन्।
नेपाली कांग्रेस २२ लाख ७ हजार ५२७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ९ लाख ६५ हजार ३४५, राष्ट्रिय स्वतन्त्र पार्टी ९ लाख २१ हजार ७६०, राष्ट्रिय प्रजातन्त्र पार्टी ४ लाख ८६ हजार २९७, जनता समाजवादी पार्टीले २ लाख ८७ हजार ४७७ मत पाएका छन्।
जनमत पार्टी २ लाख २१ हजार ४२७ मत ल्याएको छ। यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) २ लाख २० हजार ५२८, नागरिक उन्मुक्ति पार्टीले १ लाख ९८ हजार ७७, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख १९ हजार ४९३ मत ल्याएका छन्।
Comments