राजनीतिमा अझै सक्रिय भएर काम गर्ने कांग्रेस नेता सिटौलाको भनाई
Published:
by .भद्रपुर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले समाजले खोजेको नयाँपन तथा नयाँ दिशातर्फ सबै राजनीतिक दलहरूले सोच्ने बेला आएको बताएका छन् ।
भद्रपुरमा आयोजित मतदातालाई धन्यवाद तथा आभार र प्रदेशसभा सदस्यमा निर्वाचित भूमिप्रसाद राजवंशीलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले संघीयता लोकतन्त्र र समाजवादलाई सही कार्यान्वयनमा ल्याएर नागरिकले खोजेको नयाँपन शासन व्यवस्थामा स्थापित गर्न दलहरू गम्भीर हुनु पर्ने बताएका हुन् ।
देशको राजनीतिमा नयाँ परिस्थिति सिर्जना भएको बताउँदै नेता सिटौलाले शासन सञ्चालनमा समेत नयाँ शैली अपनाएर राजनीति अगाडि जानसके वर्तमान नेपालले खोजेको भावना पूरा हुने प्रष्ट पारेका छन् । उनले पुरानो राजनैतिक शैलीलाई अगाडि बढाएर अबको राजनीति जनताको भावना छुने गरी लक्ष्यमा पुग्न नसक्ने भएकोले यसतर्फ पनि सोच्ने बोला आएको बताए ।
नेता सिटौलाले निर्वाचनबाट कोही विजय कोही पराजय भए पनि राजनीतिमा उन्नत संस्कार सिक्नुपर्ने भएको हुँदा अबको गन्तव्यमा पनि आफू राजनीतिमा सकृय रहने कार्यकर्ता सामु प्रष्ट पारेका छन् । निर्वाचनको क्रममा सबैको चित्त बुझाउन नसकिने भएकोले निर्वाचनको परिणामलाई आत्मसात गर्दै अगाडि बढ्नेसमेत नेता सिटौलाको भनाई छ ।
उनले झापा क्षेत्र नं. ३ का जनताको हितमा आफू सधैं काम गर्ने बताउँदै गठबन्धन दलका सबै नेता कार्यकर्ता, मतदाताहरुलाई आभारसहित धन्यवाद दिएका छन् । नेता सिटौलाले निर्वाचनलाई आफ्नो पक्षमा ल्याउन अहोरात्र खट्ने किसान, मजदुरहरूले आफ्नो मन जितेको भन्दै पराजयलाई पनि आफूले विजयकै रूपमा लिएर काम गर्ने बताए ।
उनले निर्वाचनको अन्तिम परिणामसँगै सत्ता गठबन्धनले आगामी पाँच वर्ष मिलेर सरकार चलाउने र देशमा देखिएका समस्यको समाधान हुने कुरामा समेत आफू विश्वस्त रहेको प्रस्ट पारे ।
सो कार्यक्रममा प्रदेश सभा सदस्यमा विजयी भूमिप्रसाद राजवंशी र गठबन्धनका साझा उम्मेदवार पूर्णप्रसाद राजवंशीले आ–आफ्नो धारणा राख्दै मतदाताप्रति आभार प्रकट गरेका थिए ।
Comments