दोलखाको १० वटा मतदान केन्द्रमा मंसिर १५ गतेभित्र पुनः मतदान गराउने आयोगको निर्णय
Published:
by .काठमाडौं । निर्वाचन आयोगले दोलखा जिल्लाका १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गतेभित्र पुनः मतदान गराउने निर्णय गरेको छ ।
दोलखाको वैतेश्वर गाउँपालिका वडा नं. ६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र “क”, “ख” र “ग”, वैतेश्वर गाउँपालिका वडा नं. २ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र “क” र “ख” र तामाकोशी गाउँपालिका वडा नं. ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्र “क” र “ख” गरी ७ वटा केन्द्रमा भएको भनिएको मतदान कार्य स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा हुन सकेको नदेखिएको तथा उल्लेखित केन्द्रहरुको मतदानमा निर्वाचन आयोग ऐन, २०७३ को दफा १० को उपदफा (१), प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ४६ को उपदफा (१) र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ४६ को उपदफा (१) बमोजिम अनधिकृत कब्जा भई मतदानको कामको निष्पक्षता र स्वतन्त्रतामा असर पुगेको हुँदा निर्वाचन आयोग ऐन, २०७३ को दफा १० को उपदफा (२) मिति २०७९/०८/०४ मा भएको मतदान रद्द गरी उल्लेखित केन्द्रहरुमा पुनः मतदान गराउने आयोगले निर्णय गरेको हो ।
यसैगरी, दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका वडा नं. ३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र “ख” मा मतदान सञ्चालन गर्ने क्रममा अत्याधिक भिडभाड भै अनियन्त्रित भिडलाई तितरवितर पार्ने क्रममा प्रतिनिधि सभा सदस्यको पहिलो हुने निर्वाचित हुने तर्फको ००७२९०१ देखि ००७३००० सम्मको १०० थान मतपत्रको अधकट्टी हराएको व्यहोरा समेतको प्रतिवेदन सम्बन्धित मतदान अधिकृतबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पेश भएको हुँदा उक्त मतदान रद्द गरी पुनः मतदान गराउने निर्णय भएको हो । आयोगले ती सबै मतदान केन्द्रहरुको निर्वाचन सम्पन्न गर्न पुनः मतदानको सूचना प्रकाशन गर्ने सम्बन्धमा आवश्यक प्रक्रिया तत्काल अगाडि बढाउन मुख्य निर्वाचन अधिकृतको कार्यालय, दोलखालाई लेखी पठाउने निर्णय गरेको हो ।
पुनः मतदान गराउनु पर्ने मतदान केन्द्रहरुमा मतदानलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न गराउन हाल कायम रहेको अति संवेदनशील मतदान स्थलमा आवश्यक सुरक्षा व्यवस्था गर्न गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालय दोलखालाई निर्देशन दिँदै सुरक्षा व्यवस्था सुनिश्चित गर्ने गराउने पनि आयोगले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
मतदान केन्द्रमा कुनै पनि व्यक्तिलाई मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गर्ने उद्देश्यले बाधा अवरोध पुर्याउने वा पुर्याउन लगाउने वा थुनछेक गर्ने वा गराउने धाक, धम्की वा डर त्रास देखाउने वा त्यस्तो कार्य गर्न दुरुत्साहन गर्ने दलका प्रतिनिधि, उम्मेदवार, मतदान प्रतिनिधि वा त्यस्तो कार्य गर्ने जुनसुकै व्यक्तिलाई तत्काल पक्राउ गरी निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ बमोजिम कारवाही गर्न गृह मन्त्रालयमार्फत जिल्ला प्रहरी कार्यालय दोलखालाई निर्देशन दिने निर्णय भएको पनि आयोगले जनाएको छ ।
Comments