Sajhamanch Archive

लैंङ्गिक हिंसा न्यूनीकरणका उपायहरु माथि भद्रपुरमा छलफल

Published: in लोकप्रिय, समाज by .

भद्रपुर। जिल्ला सदरमुकाम भद्रपुरमा आज लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्बन्धमा अन्तरक्रिया गरिएको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख विश्व बरालको प्रमुख आतिथ्यमा उक्त अन्तरक्रिया भएको हो ।

कार्यक्रममा सहभागीहरुले लैङ्गिक हिंसा न्यूनीकरण गर्न पिडितलाई न्यायका लागि सम्बन्धित निकायसम्म पुर्याउन सम्बन्धित सरोकारवालाहरुले विशेष भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । यस्तै, हिंसा प्रभावितहरुलाई आय आर्जनको ब्यवस्था गर्नुपर्ने, हिंसा विरुद्ध बोल्नेलाई प्रोत्साहित गरिनुपर्ने तथा हिंसा विरुद्धमा शून्य सहनशिलताको सिद्धान्त अपनाउनु पर्नेतर्फ ध्यानाकर्षण गराइएको थियो । हिंसा न्यूनिकरणका लागि टोल विकस संस्थाहरुलाई परिचालन गरिनुपर्ने सुझाव पनि सहभागीहरुले दिएका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले कतिपय झुट्टा मुद्दा भन्ने थाहा हुँदाहुँदै पनि संघ संस्थाको दबाबमा दर्ता गर्न प्रहरीलाई बाध्यतामा पारिने हुँदा महिला हिंसा बिरूद्ध काम गर्न यस क्षेत्रमा क्रियाशिल संघ संस्थाहरुलाई यस्ता विषयमा संवेदनशील भईदिन आग्रह गरे ।

प्रमुख जिल्ला अधिकारी रिजालले प्रत्येक वर्ष नोभेम्बर २५ देखि १० डिसेम्बरसम्म सञ्चालन हुने हिंसा विरुद्धको १६ दिने अभियानलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न सम्बन्धित निकाय वा संस्थाहरुलाई निर्देशन दिए ।

त्यसैगरी जिसस प्रमुख बरालले आफूले पनि जिल्ला भित्र रहेका अभियानसँग सम्बन्धित कार्यक्रमहरुलाई अनुगमन निरीक्षण गर्ने बताउँदै कार्यक्रमलाई प्रभावकारी ढंगबाट सम्पन्न गर्न सबै पालिका र संघ संस्थालाई निर्देशन गर्दै आफ्नो तर्फबाट पनि सहभागिता जनाउने बताए ।

मेची प्रादेशिक अस्पताल भद्रपुरका मेडिकल सुपरिटेण्डेन डा. टंकप्रसाद वाराकोटी, सहायक प्रमुख जिल्ला अधिकारीहरू, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु कार्यक्रममा सहभागी थिए ।

यस्तै, सरकारी वकिल कार्यालयका प्रतिनिधि, झापाका विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरू र सम्बन्धित शाखाका प्रमुख तथा प्रतिनिधि, महिला हिंसा बिरूद्ध क्रियाशील विभिन्न संघ संस्थाका प्रमुखहरु लगायत तीन दर्जन हाराहारीको सहभागिता थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *