लैङ्गिक हिंसा व्यवहारमै अन्त्य हुनुपर्नेमा सरोकारवालाको सार्वजनिक अपिल
Published:
by .बिर्तामोड । ‘लैङ्गिक हिंसाः न्यूनीकरणका उपाय र सरोकारवालाको भूमिका’ विषयक जिल्ला स्तरीय संवाद आइतबार बिर्तामोडमा सम्पन्न भएको छ ।
‘सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने नाराका साथ जारी १६ दिने अभियान अन्तर्गत संवाद समूह–महिला समूह झापा र न्याय तथा विकासका लागि सामाजिक सञ्जालको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा जिल्लाका सरोकारवालाको उल्लेख्य सहभागिता थियो ।
कार्यक्रमका सहभागीले लैङ्गिक हिंसा नारा र कागजमा होइन व्यवहारमा अन्त्य हुनुपर्नेमा जोड दिएका छन् । जिल्ला प्रहरी कार्यालय झापाको तर्फबाट प्रहरी निरीक्षक यशोदा घले र झापा बार एसोसिएसनका तर्फबाट अधिवक्ता कविता बाँस्तोलाले लैङ्गिक हिंसाका तथ्यांकीय तथा कानूनी पक्ष बारेको छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।
सहभागी सरोकारवालाले सबै लिङ्ग र उमेर समूहका व्यक्तिलाई हिंसा, यौन उत्पीडन र शोषणका साथै अन्य सबै प्रकारका दुव्र्यहारबाट स्वतन्त्र भएर बाँच्ने अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिए । समाजमा दिन प्रतिदिन बढ्दो लैङ्गिक हिंसा अन्त्यका लागि सबै सरोकारवालाको प्रभावकारी भूमिका हुनुपर्ने सहभागीको भनाई थियो ।
कार्यक्रमका सहभागी सरोकारवालाले लैङ्गिक हिंसा अन्त्यका लागि प्रतिवद्धतासहित नौ बुँदे सार्वजनिक अपील पनि जारी गरेका जनाइएको छ ।
Comments