कमलका ८३ जनालाई किसान कार्ड, चुलाचुलीका ५५ ले पाउँदै
Published:
by .कमल । कृषि विकास बैंक दमक शाखाले कमल गाउँपालिकाका ८३ जना किसानलाई कार्ड वितरण गरेको छ । कमल गाउँपालिका वडा नं. २ स्थित टंक आईपिएम कृषि फर्मको प्राङ्गणमा आयोजित कार्यक्रममाझ किसान कार्ड प्रदान गरिएको हो ।
नेपाल सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तब्यमा किसानलाई किसान कार्ड वितरण गर्ने भनी बजेट व्यवस्था गरेअनुसार कृषि विकास बैंकले कार्ड वितरण सुरु गरेको जनाइएको छ । कृषि विकास बैंक लिमिटेड दमक शाखाले आफ्नो पहुँच क्षेत्रका सदस्यहरुलाई किसान कार्ड वितरण गरेको हो ।
कृषि विकास बैंक प्रदेश १ का निर्देशक रन्जन खनाल र दमक शाखाका प्रबन्धक पर्शुराम बुढाथोकीले संयुक्तरुपमा किसानलाई कार्ड वितरणको थालनी गरेका हुन् । सो कार्डको प्रयोग गरेर बैंकका सदस्य किसानले तोकिएको कृषि सामग्री पसलबाट कृषि सम्बन्धी सामान खरिद गर्न पाउनेछन् । तर सम्बन्धित कार्डवाला कृषकको बैंक खातामा तोकिएको न्यूनतम रकम हुनुपर्नेछ ।
कार्डको माध्यमबाट बैंकले तोकेको बिक्रेता मार्फत किसानले सहज तरिकाले आफूलाई आवश्यक पर्ने कृषि तथा पशुपालन सम्बन्धी सामग्री खरिद गर्न र आफूले उत्पादन गरेको बस्तु बिक्री गरेर तुरुन्तै पैसा लिनसक्ने जनाइएको छ ।
उक्त कार्डको उपयोगबाट किसानले सामान खरिद तथा बिक्रीका साथै मौसम सम्बन्धी जानकारीसमेत पाउने कृषि विकास बैंक १ नम्वर प्रदेशका निर्देशक रन्जन खनालले जानकारी दिएका छन् ।
सो बैंकले इलामको चुलाचुली गाउँपालिकाका ५५ जनालाई पनि किसान कार्ड वितरणको अन्तिम तयारीमा पुगेको दमक शाखा अन्तरगत कर्जा शाखाका गोपाल कटुवालले बताए ।
Comments