समाजसेवी घिमिरेलाई सम्मान अर्पण
Published:
by .बिर्तामोड । बिर्तामोडमा आयोजित कार्यक्रमबीच लैङ्गिक हिंसा विरूद्वको १६ दिने अभियान अन्तरगत आज बिर्तामोडमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
एबिसी नेपाल झापा, नारी सञ्चार गृह झापासिहत महिलाले नेतृत्व गरेका विभिन्न ३२ बढी संस्थाहरूले हिंसा, बेचबिखन तथा मानव ओसारपसार बिरूद्व चार दशकदेखि आवाज उठाउँदै आएकी सामाजिक अभियान्ता दुर्गा घिमिरेलाई सम्मान गरिएको हो ।
एबिसी नेपाल झापाका अध्यक्ष कञ्चना ढकाल सिटौलाको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सम्मानित ब्यक्तित्व घिमिरेलाई दोसल्ला ओडाएर प्रमुख अतिथि, अतिथि एवम् संघ–संस्थाहरूले सम्मान पत्र र खादा प्रदान गरेका हुन् । सम्मानितको व्यक्तित्वबारे नेपाल प्रेस युनियनका केन्द्रीय सचिव रेजिना गौतमले प्रकाश पारेकी थिइन् भने नारी सञ्चार गृहका सदस्य स्वस्तिका आचार्यले सम्मान पत्र वाचन गरेकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख प्रसाईले हिंसा सहेर बस्ने बानी नहटेसम्म कुनै पनि प्रकारको हिंसा अन्त्य गर्न नसकिने बताइन् । हिंसा अन्त्यका लागि घर, समाज र टोलदेखि नै जागरुक हुनुपर्नेमा उनको जोड थियो ।
त्यस्तै झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले हिंसा बढ्नुको प्रमुख कारण गरिबी, चेतनाको अभाव, शासन पद्वतिमा भएका कमजोरी भएको बताए ।
बलियाले कमजोरलाई हिंसा गर्ने गरेको बताउँदै उनले गरिबीको चपेटाबाट नागरिकको जीवनस्तर उकास्न स्थानीय सरकारले योजना अघि सार्नुपर्ने बताउँदै सामाजिक क्षेत्रमा क्रियाशिल संघ–संस्थाले सचेतना जगाउने र नियमनकारी ठाउँमा बसेकाले कानून कार्यान्वयनमा इमान्दारिता देखाए हिंसा न्यूनीकरण हुने धारणा राखे ।
त्यस्तै सम्मानित व्यक्तित्व घिमिरेले आर्थिक सशक्तीकरणमा बलियो नभएसम्म हिंसाको अन्त्य नहुने बताउँदै महिलालाई आर्थिक रूपमा शसक्त बनाउन जरूरी रहेको बताइन् । साथै हिंसा सम्बन्धी कानूनमा भएको व्यवस्थामा पनि केही परिवर्तन गर्न जरुरी रहेको उनको भनाई थियो ।
कार्यक्रममा बिर्तामोडका डिएसपी रुगमबहादुर कुँवरले आफ्नो इलाका भित्रका क्षेत्रमा देखिएका लैङ्गिक हिंसाको अवस्थाबारे जानकारी दिंदै हिंसाका घटनामा भएका कानूनी व्यवस्थाबारे सहभागीलाई जानकारी दिए ।
अन्तरक्रियामा राधिका चुडाल, तुलसा खरेल, शुष्मा पौडेल, सर्मिला अधिकारी, रोजिना पाण्डे लगायतले समाजमा देखिएका हिंसाका घटना र न्युनिकरणका लागि गर्न सकिने क्रियाकलापबारे आ-आफ्नो धारणा राखेका थिए ।
Comments