चार दलले समानुपातिक सांसद छान्न शनिबार बैठक गर्ने
Published:
by .काठमाडौं । समानुपातिक सांसद चयन गर्न नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाले शनिबार बैठक बोलाएका छन् ।
एमालेको केन्द्रीय सचिवालय, कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति, जसपाको केन्द्रीय कार्यकारिणी समिति र रास्वपोको बैठक शनिबार बस्न लागेको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनपछि पहिलोपटक शनिबार बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।
बैठकमा कांग्रेसले समानुपातिकतर्फ प्राप्त ३२ सांसदमा क–कसलाई पठाउने भन्नेबारे निर्णय गर्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । कांग्रेसलाई निर्वाचन आयोगले २९ जना महिला र तीनजना पुरुष सांसद पठाउन सूचित गरेको छ ।
यस्तै, प्रदेश सांसदबारे पनि सोही बैठकले निर्णय गर्ने भएको छ । कांग्रेसले प्रदेशमा १११ सिट पाएको छ ।
यस्तै, एमाले केन्द्रीय सचिवालय बैठक शनिबारका लागि सरेको छ । एमाले अध्यक्ष केपी ओलीले शुक्रबार दिउँसो १ बजे बस्ने गरी बोलाएको बैठक ओलीको कार्यव्यस्तताका कारण आज बस्न नसकेको हो । पदाधिकारी उपस्थित रहने सो बैठक शनिबार बस्ने तय भएको छ ।
एमालेले ३४ सिट पाएको छ । जसमा १५ पुरुष र बाँकी महिला सांसद पठाउनुपर्ने छ । एमालेले प्रदेशमा ९१ सिट पाएको छ ।
यस्तै, शनिबार बिहान ८ बजे जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले जानकारी दिएका छन् । बैठकले समानुपातिक तर्फका सांसदबारे निर्णय गर्ने भएको छ। जसपाले समानुपातिकमा पाँचजना पाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक पनि भोलि शनिबार नै बसेर समानुपातिक तर्फ निर्वाचन आयोगले निर्धारण गरिदिएको १३ जनाको नाम निर्णय गर्ने अध्यक्ष रबि लामिछानेले जनाएका छन् ।
यसैबीच झापाका चारजना नेता नेकपा एमालेबाट प्रतिनिधिसभामा समानुपातिक सांसद बन्ने लगभग निश्चित भएको छ । निर्वाचन आयोगमा बुझाइएको उम्मेदवारको बन्दसूचिमा प्राविधिक परिवर्तन गरिएन भने निवृत्त प्राध्यापक के आर खम्बु भद्रपुर, भीम खबास मेचीनगर, बिर्तामोडका अमृतलाल राजवंशी र हर्कमाया विश्वकर्मा सांसद बन्नेछन् ।
Comments