किरात सिरिजङ्गा लिम्बूका मात्रै नभएर देशकै निधि हुन् : प्रदेश प्रमुख खापुङ
Published:
by .उर्लाबारी । प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले किरात याक्थुङ चुम्लुङले संविधानको मर्म र भावनालाई बुझेर राष्ट्रिय एकताको लागि सघाउ पुर्याएको बताएका छन् ।
किरात याक्थुङ चुम्लुङ, संघीय समितिद्वारा उर्लाबारी ९ मोरङमा आयोजित सिरिजङ्गा सिङथेवेको ३१८औं जन्मजयन्ती तथा उदयकला पुरस्कार वितरण कार्यक्रममा प्रदेश प्रमुख खापुङले सो कुरा बताएका हुन् ।
कार्यक्रममा प्रदेश प्रमुख खापुङले नेपालको संविधानले नै बहुभाषिक, बहुधार्मिक, बहुजातीलाई आत्मसात गरेको कुरा अवगत गराउँदै चुम्लुङलगायतका संस्थाले गरिरहेको कामको प्रंशंसा गरेका थिए । सिरिजङ्गाले किरात सिरिजङ्गा लिपिको विकास गरेको हुनाले उनी लिम्बू जातिको मात्र नभएर देशकै निधि हुनुपर्ने प्रदेश प्रमुखको जोड थियो ।
कार्यक्रममा उर्लाबारी नगरपालिकाका प्रमुख गंगा खरेलले संवैधानिक जटिलता नआएको खण्डमा तथा कानुनले दिएसम्म भाषालाई पढाउन पहल गरिने आश्वासन दिए । अहिले नगरपालिकाले नयाँ पाठ्यक्रम बनाउँदै गरेको जानकारी गराउँदै नगरप्रमुख खरेलले मिल्नेसम्म जाति, भाषा, धर्मका कुरा पुस्तकमा समावेश गराउने बताए ।
चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनले अहिलेसम्म शालिन भाषा प्रयोग गर्दै भाषा, संस्कृतिको उत्थानका आवाज उठिरहेको तर यसपालि, आघौं, पराघौं पनि आवाज उठाउनुपर्ने भएमा शालिनतालाई बिर्सने चेतावनी दिए ।
कार्यक्रममा साहित्यकार मलिसा याक्थुङ्बालाई २५ हजार रुपैयाँ राशीको कियाचु किरात सिरिजङ्गा पुरस्कार २०७९ प्रदान गरिएको थियो । यस्तै कलाकार तथा लिम्बू भाषाको प्रथम नायिका, निमात्री शोभा खजुमलाई १० हजार रुपैयाँ राशीको कियाचु उदयकला पुरस्कार प्रदान गरिएको थियो ।
Comments