Sajhamanch Archive

हरियो चियापत्तिको गुणस्तर वृद्धि गर्न जोड

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by .

बिर्तामोड । हरियो चियापत्तिको गुणस्तर वृद्धिमा ध्यान दिन चिया किसानलाई सरोकारवालाले आग्रह गरेका छन् । विश्व बजारमा चियाको भविष्य राम्रो रहेको भन्दै उनीहरुले उत्पादनसँगै गुणस्तरमा पनि ध्यान दिन आग्रह गरेका हुन् ।

सरोकारवालाले हरियो चिया पत्तिको गुणस्तर वृद्धि गर्न सरकारले पनि सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । समयमै आवश्यक मलखाद र सिंचाईको प्रबन्ध गरेको खण्डमा हरियो चियापत्तिको गुणस्तर वृद्धि गर्न सकिने उनीहरुको भनाई छ । झापाका चिया किसान र उद्योगीका लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्डले हरियो चिया पत्तिको गुणस्तरीय मापदण्ड सम्बन्धी तीन दिने अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

झापाको हल्दिबारी, पृथ्वीनगर र बाहुनडाँगीमा आयोजित अन्तरक्रियाका सहभागीले हरियो चिया पत्तीको गुणस्तर वृद्धिको विकल्प नभएको बताए । उनीहरुले गुणस्तर नहुँदा भारतीय चियाले विश्व बजारमा विश्वास गुमाउँदै गएको अवस्थामा नेपाली चिया किसान त्यसतर्फ सचेत हुनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. बिष्णुप्रसाद भट्टराईले हरियो चिया पत्तीको गुणस्तर वृद्धिका लागि लगातार सरकारको ध्यानाकर्षण गराउने काम गरिरहेको बताए । उनले हरियो चिया पत्तीको गुणस्तर वृद्धिका लागि यो सिजनमा झापाका किसानलाई पर्याप्त हुने मलखादको व्यवस्था गर्ने काममा आफू स्वयम् जुटेको बताए ।

डा. भट्टराईले चिया बगानमा सिंचाइको पर्याप्त व्यवस्थाका लागि प्रदेश सरकारमार्फत अनुदानमा बोरिङको व्यवस्था गर्न लागेको जानकारी दिए । नेपाल चिया उत्पादक संघका उपाध्यक्ष आदित्य पराजुलीले अस्वस्थ्य प्रतिस्पर्धाका कारण झापामा हरियो चिया पत्तीको गुणस्तर वृद्धि गर्न समस्या भएको बताए । उनले किसानले समयमै पर्याप्त मलखाद र सिंचाईको सुविधा पाए हरियो चिया पत्तीको गुणस्तर वृद्धिमा कुनै कन्जुस्याई नहुने बताए ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्रप्रसाद अधिकारीले हरियो चियापत्तिको गुणस्तरमा ध्यान दिन नसके नेपाली चियाको भविष्य खुम्चिँदै जाने बताए । तर, गुणस्तर वृद्धि गर्न सके चिया खेती दीगो र राम्रो आम्दानीको खेतीको रुपमा विकास गर्न सकिने बताए । उनले गुणस्तर वृद्धि गर्नसके नेपाली चियालाई भारतीय बजारको मात्र भर नपरी तेस्रो मुलुकमा समेत निर्यात गर्न सकिने बताए ।

अन्तक्र्रियामा हरियो चिया पत्तीको गुणस्तर वृद्धिका लागि किसानलाई चिया बगानमा गर्नुपर्ने न्यूनतम कामहरुका बारेमा जानकारी दिइएको थियो । त्यस्तै बगानमा गर्नुपर्ने सालेना काँटछाँट र रेखदेख लगायत विषयमा प्रयोगात्मक प्रशिक्षणसमेत दिइएको थियो । चिया खेती र हरियो चिया पत्तिको गुणस्तर वृद्धिबारे बोर्डका प्राविधिकहरुले प्रशिक्षण दिएका थिए । अन्तरक्रिया कार्यक्रमको सञ्चालन बोर्डका लेखा अधिकृत सुमन त्रिखत्रीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *