किसानको धान नकिन्ने भए खाद्य गोदाम किन चाहियो भन्दै गेटमै तालाबन्दी (भिडियोसहित)
Published:
by .झापा । सरकारले धानको समर्थन मूल्य तोके पनि सरकारी निकाय न त धान ब्यापारी कसैले उक्त मूल्यमा खरिद नगरेपछि देशभरका किसान आन्दोलनमा छन् । मंसिर २२ गते प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका किसानहरुले आज खाद्य व्यवस्था तथा ब्यापार कम्पनीको गोदामहरुमा तालाबन्दी गरेका हुन् ।
अखिल नेपाल किसान महासंघ र नेपाल किसान महासंघको संयुक्त आयोजनामा भएको किसानहरुको भेलाले बिर्तामोडस्थित खाद्य गोदाममा तालाबन्दी गरेका हुन् । एक दर्जनभन्दा बढी प्रहरीको अवरोधका बावजुद आफूहरुको कार्यक्रम सफल भएको अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष बेणु सिवाकोटीले बताएका छन् ।
‘मूलभूतरुपमा हामीले सरकारमा बसेका अर्धनिन्द्रितहरुलाई ब्युँझाउन खोजेका हौं, किसानको दवावमा समर्थन मूल्यसम्म तोकिदिने अनि किसानले तोकिएको मूल्य पाएका छैनन्भन्दा निदाउन थाल्नेहरुलाई ब्युँझाउन यस्तो कार्यक्रम गरिएको’ महासंघका केन्द्रीय उपाध्यक्ष सिवाकोटी बताउँछन् ।
सरकारलाई पठाइएको ज्ञापनपत्रमा मंसिरको मध्यसम्म पनि सरकारी निकायले धान खरिद प्रक्रिया सुरु नगरेका कारण किसानले ब्यापारीहरुलाई सस्तो मूल्यमा बेच्न बाध्य भएको उल्लेख छ । सरकारले धान खरिदका लागि आवश्यक बजेट निकासा नगर्दा धान खरिद प्रक्रिया अगाडि नबढेको खाद्य ब्यवस्था तथा ब्यापार कम्पनीको छ । सरकारले धानको समर्थन मूल्य तोक्ने तर खरिद गर्न चाहिँ रकम निकासा नगर्दा किसानले कम मूल्यमा धान बेच्न बाध्य हुनुपरेको गुनासो गरिएको छ ।
किसानको धान नकिन्ने भए खाद्य गोदाम किन चाहियो भन्दै गेटमै तालाबन्दी गर्ने राष्ट्रिय कार्यक्रम अनुसार आज बिर्तामोडमा पनि तालाबन्दी कार्यक्रम गरिएको बताइएको छ । सिवाकोटीको नेतृत्वमा अखिल नेपाल किसान महासंघ र नेपाल किसान महासंघका जिल्ला अध्यक्षहरु गोपाल चुडाल र राजेन्द्र भट्टराईसहित दर्जनौं किसानहरुले खाद्य व्यवस्था तथा ब्यापार कम्पनीको बिर्तामोडस्थित खाद्य गोदाम अगाडि कोणसभासहित ताला लगाउने कार्यक्रम गरेका हुन् ।
खाद्य गोदाममा ताला लगाउन खोज्ने किसान र लगाउन नदिने प्रहरीबीच केहीबेर भनाभन र वादविवाद पनि भएको थियो । आन्दोलनकारी किसानहरु आफ्नो राष्ट्रिय कार्यक्रम भएकाले ताला लगाएरै छाड्ने अड्डि कसे भने प्रहरीहरुले लगाउनै नमिल्ने भनी रोकिरहेका थिए ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख, प्रहरी नायव उपरिक्षक रुगमबहादुर कुँवरले किसानले उत्पादनको मूल्य नपाएर गरिरहेको विरोधलाई प्रहरीको तर्फबाट असहयोग भएको नभई सरकारी संस्थानाको गोदाममा ताला लगाउने कार्यक्रमलाई निस्तेज बनाउनै पर्ने बाध्यताका कारण केहीबेर वादविादमात्र भएको बताए । प्रहरीहरुले केही लचिलोपना देखाएपछि आन्दोलनकारी किसानले गेट तानेर बन्द गर्दै नारावाजी गरेका थिए ।
(हेर्नुस् विरोध कार्यक्रमको भिडियो )
Comments