प्रदेश १ मा राष्ट्रिय सहकारी बैंकको एकाई साधारणसभामा २९.७८ प्रतिशतमात्र उपस्थिति !
Published:
by .झापा । राष्ट्रिय सहकारी बैंक लिमिटेडको आज एकैदिन प्रदेशस्तरको एकाइ साधारण सभा र नयाँ नेतृत्व चयनका लागि मतदान कार्य सम्पन्न भएको छ । सातवटै प्रदेशमा आयोजित १९औं वार्षिक साधारणसभामा सहभागी बैंकका सेयर सदस्यहरुले विद्युतीय मतदान गरी नेतृत्व चयन अभ्यास गरेको जनाइएको छ ।
सो वार्षिक साधारण सभामा देशभरबाट १५ हजार ७२७ सहकारी संघ–संस्थाका प्रतिनिधिहरु सहभागी हुने बैंकले जनाएको छ । जसअनुसार प्रदेश १ मा २ हजार ५५२, मधेश प्रदेशमा २ हजार ३९, बागमतीमा ६ हजार ५०७, गण्डकी प्रदेशमा १ हजार ५३५, कर्णाली प्रदेशमा ७४८ र सुदूरपश्चिम प्रदेशमा ५०४ सहकारीहरु बैंकका सेयर सदस्यहरु छन् ।
सातवटै प्रदेशमा आज एकैदिन सहकारीका प्रतिनिधिहरूको भौतिक उपस्थितिमा एकाईस्तरको साधारणसभा सम्पन्न भएको बैंकका अध्यक्ष केबी उप्रेतीले जानकारी दिएका छन् । विगत वर्षका साधारण सभा इकाइगत रूपमा छुट्टाछुट्टै मितिमा हुने गरेका थिए ।
१९औं वार्षिक साधारण सभा अन्तरगत बागमती प्रदेशको सभामा बैंकका अध्यक्ष के बी उप्रेतीले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन, प्रस्तावित कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए । यस्तै लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मीप्रसाद उप्रेतीले आफ्नो विभागीय प्रतिवेदन प्रस्तुत गरे । बागमती प्रदेशबाट अध्यक्ष र लेखा संयोजकले प्रस्तुत गरेको प्रतिवेदन भर्चुअल माध्यमबाट अन्य प्रदेशका साधारणसभाहरुमा हेर्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।
एकाईस्तरको साधारणसभा प्रदेश १ का लागि विराटनगरको अतिथि सदनमा, मधेस प्रदेशका लागि धर्म संस्था व्याहुत कलवार चौरासी जनकपुरमा, बागमती प्रदेशको लागि स्काई दरबार बैंकेट सिंहदरबार काठमाडौंमा, गण्डकी प्रदेशका लागि पोखरा सभागृहमा, लुम्बिनी प्रदेशका लागि दरबार लन रुपन्देहीमा, कर्णाली प्रदेशका लागि शुभ होटल सुर्खेतमा र सुदूरपश्चिम प्रदेशका लागि ओम प्यालेस धनगढीमा कार्यक्रम स्थल बनाइएको थियो ।
साधारण सभामा सहभागी प्रतिनिधिहरुले आगामी ४ वर्षे कार्यकालको लागि नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति चयनका लागि विद्युतीय मतदान गरेका छन् । बैंकको १५ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति हुने व्यवस्था छ । खुला सञ्चालक ४ जना, सञ्चालक समितिमा प्रदेश सदस्य कर्णाली प्रदेशबाट १, लेखा सुपरिवेक्षण समिति खुला १ र लेखा सुपरिवेक्षण समिति महिला १ बाहेक अन्यमा पदमा निर्विरोध भइसकेको छ ।
खुला सञ्चालक ४ मा १६ जनाको उम्मेदवारी परेको छ । लेखा सुपरिवेक्षण समिति खुला १ मा ४ जनाको उम्मेदवारी परेको छ भने लेखा सुपरिवेक्षण समिति महिला १ मा २ जनाको उम्मेदवारी परेको छ । त्यस्तै सञ्चालक समिति प्रदेश सदस्य कर्णाली प्रदेश १ मा २ जनाको उम्मेदवारी परेको छ ।
यसैबीच, प्रदेश १ को मतगणना सम्पन्न भएको छ । लेखा सुपरिवेक्षण समितितर्फ खुला १ पदका लागि उम्मेदवारी दिएका झापाका भवानीप्रसाद दंगालले दिएको जानकारी अनुसार २ हजार ५५२ मतदाता रहेको प्रदेश १ मा ७६० जनाले भौतिक उपस्थिति जनाएर मतदान गरेका छन् । ७६० जना मतदाताहरुमध्ये दंगाललाई २४३, गणेश चन्दलाई २३०, महेश आचार्यलाई १९७ र केशवप्रसाद सापकोटालाई ९७ जनाले मतदान गरेको परिणाम आएको छ ।
साधारणसभामा ५१ प्रतिशत उपस्थिति अनिवार्य मानिन्छ तर प्रदेश १ मा २९ दशमलव ७८ प्रतिशत सदस्यको उपस्थितिमा साधारणसभा र मतदान हुनुले यसको वैधानिकतामा पनि प्रश्न उठेको छ । यो विषयले सरोकारवालाको पक्कै ध्यानाकर्षण हुनेछ । यद्यपी मतदान भएपछिको परिणाम अनुसार सञ्चालक सदस्य र अन्य उम्मेदवारहरुले प्राप्त गरेको मत परिणाम निम्नानुसार छः
Comments