Sajhamanch Archive

हिक्मत कार्की आजदेखि प्रदेश १ को मुख्यमन्त्री बन्दै

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by .

विराटनगर । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच प्रदेश १ को मुख्यमन्त्री एमालेको भागमा पर्ने सहमति भएको छ । अब नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आज मुख्यमन्त्रीमा दाबी पेश गर्ने कार्यक्रम रहेको हो ।

प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीको लागि दाबी पेश गर्न आह्वान गरे बमोजिम समय सीमाभित्रै सरकारको नेतृत्वका लागि दावी पेश गर्ने तयारी भएको जनाइएको छ ।

एमाले स्थायी कमिटीका सदस्यसमेत रहेका प्रदेशसभा सदस्य कार्कीले आज दिउँसोसम्म दाबी पेश गर्ने तयारी गरेको उनको सचिवालयले जनाएको छ । माओवादीले प्रदेश १ को मुख्यमन्त्री पाउनु पर्ने दाबी गरेपछि सो विषय टुङ्गोमा पुगेको थिएन ।

संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्नका लागि प्रदेश प्रमुख खापुंगले आजसम्मको सीमा दिएका थिए । सीमा दाबी लिएर प्रदेश प्रमुखसमक्ष जाने एमालेले बताएको छ ।

मुख्यमन्त्रीमा दाबी पेश गर्न चाहिने कागजी दस्ताबेज तयार भइसकेको एमाले प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीले जानकारी दिए। ‘सत्ता साझेदारी दलहरूको सहभागितामा दाबी पेश गरिन्छ, हामी त्यसको तयारीमा लागिरहेका छौ,’ उनले भने ।

औपचारिक निर्णय हुन बाँकी रहेपनि प्रदेश १ को मुख्यमन्त्री एमालेको भागमा परेको माओवादीले जनाएको छ । माओवादीका एक नेताले भने प्रदेश १ मा अब एमाले नेतृत्वको सरकार बन्ने छ ।

९३ सदस्यीय प्रदेश सभा सदस्यमध्ये ६० जना प्रदेशसभा सदस्यको समर्थनमा दाबी पेश गर्ने एमालेको तयारी छ । एमाले ४०, माओवादी १३, राप्रपा ६ र जसपा १ गरी एमाले गठबन्धनसँग ६० संसद छन् । सरकार गठन गर्नका लागि ४७ जना आवश्यक पर्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *