Sajhamanch Archive

झापा कारागारले कहिले गर्छ दिसाजन्य फोहोर पानीको व्यवस्थापन ?

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by .

भद्रपुर । क्षमताभन्दा बढी कैदी बन्दी भएको झापा कारागारमा भित्र जति उकुसमुकुस छ त्योभन्दा बाहिरको अवस्था झन् बिकराल बनेको धेरै वर्ष भइसकेको छ । दुई दशकयता कारागारको अस्तव्यस्त फोहोर पानीको उचित व्यवस्थापनको माग गर्दै आएका पीडितहरुले न्यायोचित समाधानको बाटो अझै नपाएको गुनासो छ ।

झापा कारागारको क्षमता ३ सय ५० जना हो, तर अहिले एक हजारभन्दा बढी कैदीबन्दीलाई त्यहाँ खाँदेर राखिएको छ । बन्दीगृहभित्र पुरूष कैदीबन्दीमा जति असहजता छ त्योभन्दा बढी असहजता कारागार आसपासका बान्दिाले भोग्दै आएका हुन् । बन्दी गृहबाट उत्पन्न हुने फोहोजन्य पानी तथा दिसापिसाव व्यवस्थापनको निकास दिने ढलको व्यवस्थापन राम्रो नभएका कारण पूर्वपट्टि रहेका दुई दर्जन घर परिवार प्रत्यक्ष असर व्यहोर्न बाध्य भएका हुन् ।

भद्रपुर नगरपालिका ९ नम्बर वडामा रहेको जिल्ला कारागारबाट उत्पन्न हुने फोहोजन्य पानी तथा दिसापिसाब व्यवस्थापनका लागि निकास दिने ढल नभएका कारण दुई दर्जन बढी घर परिवार प्रत्यक्ष डुवानमा परेका हुन् । कारागारको फोहोर पानी बग्ने ढलको उचित प्रबन्ध नभएका कारण त्यहाँबाट दैनिक उत्पादित हजारौं लिटर फोहोर पानीले पूर्वपट्टिको बस्तीलाई प्रत्यक्ष असर गरिरहेको नाङ्गो आँखाले पनि देख्न सकिन्छ ।

२०६२ साल पछि नेतृत्वमा पुगेका सबै सरकार प्रमुखसँग स्थानीय बासिन्दाले कारागारको फोहोर पानीको व्यवस्थापनका लागि माग राखेर पटक पटक ध्यानाकर्षण तथा ज्ञापनपत्र बुझाएका भए पनि अझै समस्याको हल हुन सकेको छैन । कारागारको फोहोरले सदरमुकाम भद्रपुरका नागरिकमा स्वास्थ्यप्रति नकारात्मक असर गरिरहेको बताइन्छ ।

कारागारबाट उत्पन्न हुने दिसाजन्य फोहोर पानीलाई व्यवस्थापन गर्न कारागार प्रशासनले दुई वर्ष अगाडि उत्तरपट्टि एउटा शोष ट्याङ्की निर्माण गरेको छ । तर, सो ट्याङ्कीले मात्र फोहोर पानी रोक्न नसकेकोले पूर्वपट्टिको बस्तीमा पानी पसेर डुवानको समस्या घटेको छैन । स्थानीय बासिन्दा दुर्गाबहादुर खड्का सहजै बग्ने ढल निर्माण नभएसम्म फोहोर पानीका कारण उत्पन्न समस्या हल नहुने बताउँछन् ।

शौचालयको शौच मिसिएको पानी केही हदसम्म रोकिए पनि कारागारको फोहोरले स्थानीयलाई सताउन नछाडेको अर्का स्थानीयबासी कविता नेपालको भनाई छ । समस्यै समस्याको भूमरीमा झापा कारागार जकडिएको छ । कतै स्थानीयको समस्या त कतै कैदीबन्दीको पीडा भएर झापा कारागार समस्याको भूमरीमा परिरहेको भए पनि सरकारी संयन्त्रले समस्या हल गरी सुधारको बाटोमा लैजान सकेको छैन ।

सदरमुकामसमेत रहेको भद्रपुर नगरपालिकामा पर्ने जिल्ला कारागार झापाबाट उत्पन्न हुने फोहोरको व्यवस्थापन गर्न पीडित स्थानीय बासिन्दाले स्थानीय सरकारदेखि संघीय सरकारसम्म दवाव दिँदै आएका छन् । तर जिम्मेवार निकायले सुनवाई नगर्दा फोहोरको उचित व्यवस्थापन हुन सकेको छैन । स्थानीयले दिसाजन्य बस्तुबाट उत्पन्न विभिन्न सरुवा रोग र प्रदुषणले दैनिकी कष्टकर बन्दै गएको गुनासो गरिरहेका छन् ।

कारागारबाट दैनिक पाँच हजार लिटर फोहोर पानी निस्कने गरेको छ । यसैगरी मलमूत्रको हिसाब नै नभएको स्वीकार गर्ने कारागार प्रशासनले उचित पहल नगरेको पीडित स्थानीय नागरिकको गुनासो छ । कुनै पनि किसिमको फोहोर व्यवस्थापन हुन उचित संरचना बन्नु पर्ने माग स्थानीय समुदायले गर्न थालेको २० वर्ष बितिसक्यो ।

जिल्ला प्रशासन कार्यालय, भद्रपुर नगरपालिका र अन्य निकायसंँग हारगुहार गर्दा पनि केही नलागेको पीडित भिष्मराज भट्टराईले गुनासो पोखे । उनका अनुसार भद्रपुर नगरपालिका खुला दिसामुक्त कसरी भयो ? कारागारको मलमुत्र पूर्वपट्टिको बस्ती तथा खेतवारीमा छरपष्ट हुने गरेको छ । के खुला दिसामुक्त यही हो ? भट्टराई प्रतिप्रश्न गर्दछन् ।

कारागार आसपास क्षेत्रमा फोहोर पानी र दिसाजन्य फोहोर बढी दुर्गन्ध भएर हिउँदमा निकै फैलिने गरेको छ । कारागार भित्रको फोहार पानी त्यहीँ वरिपरि बग्ने भएकोले संधै दुर्गन्ध र फोहोरसंँग लुकामारी गर्नुृपर्ने बाध्यता रहेकोले स्वास्थ्यमा समस्या आउने गरेको पीडितहरूको दुखेसो छ । उनीहरूका अनुसार सो क्षेत्रमा फोहोरका कारण खेतबाली लगाउन सक्ने अवस्था अझैसम्म नरहँदा बिघौं जमिन बाँझिएको वर्षौं भएको छ ।

स्वच्छ वातावरणमा जीवनयापन गर्ने हाम्रो अधिकारलाई जिल्ला कारागारबाट निस्कने तथा उत्पादन हुने फोहोरले अतिक्रमण गरेको भन्दै पीडितहरू यसलाई समयमै ध्यान दिएर जिम्मेवार निकायले रोक्न नसकेको आरोप लगाउँछन् । नागरिकको जीवन संकटमा पार्ने दिसाजन्य फोहोर व्यवस्थापन नगरी स्वच्छ वातावरणमा बाच्न पाउने अधिकार हनन् भइरहने पीडित स्थानीयको आरोप छ ।

कारागार प्रशासनले भने अस्थायी समाधानका लागि केही काम गरिएको भए पनि स्थायी समाधानका लागि समय लाग्ने भन्दै आफ्नो बचाउ गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *