Sajhamanch Archive

रोटरी क्लव अफ सुरुङ्गाले असक्तहरुलाई घर घरमै पुर्यायो व्हील चेयर

Published: in लोकप्रिय, समाज, स्थानीय तह by .

कनकाई । झापाको कनकाईमा सामाजिक क्षेत्रमा क्रियाशिल हुँदै आएको रोटरी र रोट्रयाक्ट क्लव अफ सुरुङ्गाले अपाङ्ग अशक्तहरुको पहिचान गरी व्हील चेयर वितरण गरेको छ ।

आर्थिक अवस्था कमजोर भएका एवम् शारिरीकरुपमा अशक्त अपाङगहरुको छनौट गरी क्लवका पदाधिकारीहरुले घर घरमै पुगेर व्हील चेयर वितरण गरेको हो । क्लवले व्हील चेयर वितरणको कार्यक्रमलाई आफ्नो वार्षिक कार्यक्रमको रुपमा राखेर स्थापना वर्षदेखि नै सहयोग गर्दै आएको क्लवका अध्यक्ष खेमप्रसाद प्रसाईले जानकारी दिएका छन् ।

व्हील चेयर प्राप्त गर्नेहरुमा कनकाई–३ निवासी भागीरथा संग्रौला, कनकाई–५ निवासी पूर्णप्रसाद भट्टराई र निश्चल मग्रान्ती, कनकाई–६ निवासी हरिमाया मगर, कनकाई– १ निवासी त्रिलोचन भट्टराई, कनकाई– ८ निवासी विधान राजवंशी र चन्द्रप्रसाद राजवंशी, कनकाई–९ निवासी श्रावणीप्रसाद खनाल लगायत रहेको अध्यक्ष प्रसाईले जानकारी दिए । १३ जनाका लागि वितरणको तयारी भएकाले बाँकी रहेका केही व्हील चेयर वितरणका लागि आर्थिक रुपले विपन्न अशक्त व्यक्तिहरुको पहिचान हुँदै गरेको रोटरी क्लव अफ सुरुङ्गाका सहसचिव रामप्रसाद निरौलाले जानकारी दिएका छन् ।

रोट्रयाक्ट क्लव अफ सुरुङ्गासमेतको समन्वय रहेको कार्यक्रममा रोटरी क्लव अफ सुरुङ्गाका निवर्तमान अध्यक्ष सुशिलकुमार श्रेष्ठ, पूर्व अध्यक्षहरु कुमारमणि पोखरेल, टिकाप्रसाद कट्टेल, सचिव मेनुका उप्रेती लगायत रोट्रयाक्टका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

निस्वार्थ सामाजिक सेवामा अहोरात्र क्रियाशिल रोटरी क्लवले शारिरीक रुपमा अशक्त व्यक्तिहरुलाई व्हील चेयर प्रदान गरेको यो पवित्र कार्यप्रति आफू अत्यन्तै प्रभावित भएको कनकाई–६ का वडाअध्यक्ष दीर्घबहादुर थापा बताउँछन् ।

वडा नं. ६ निवासी अशक्त हरिमाया मगरलाई व्हील चेयर वितरणको संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष थापाले स्थानीय सरकारको समेत ध्यान नपुगेको संवेदनशिल विषयमा रोटरी क्लवबाट भएको सहयोगप्रति आभार प्रकट गर्दै आगामी दिनमा आफ्नो वडाको तर्फबाट क्लवसँग समन्वय गरेर काम गर्ने प्रतिवद्धता जनाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *