माओवादी र राप्रपाका यिनले लिँदैछन् मन्त्रीको सपथ
Published:
by .काठमाडौं । नेकपा माओवादी केन्द्रबाट रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदी मन्त्री बन्ने पक्का भएको छ । सत्ता गठबन्धनमा भएको भागबण्डामा माओवादीको भागमा चारवटा मन्त्रालय परेको छ ।
माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री छन् । उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् ।
दाङ २ बाट निर्वाचित रेखा शर्मा सूचना तथा सञ्चारमन्त्री बन्ने भएकी छन् । भोजपुरबाट निर्वाचित सुदन किरातीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।
माओवादी केन्द्रले सुशीला श्रीपालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री बनाउने भएको छ । सत्ता गठबन्धनमा भएको भागवण्डामा माओवादी केन्द्रलाई एक राज्यमन्त्री परेको थियो ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी ३ मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन उपप्रधान तथा उर्जा मन्त्रीको शपथ लिने तयारीमा छन् । उनले समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्नि परीक्षामा होमिने निर्णयमा पुगेको बताएका छन् ।
‘आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्नि परीक्षामा होमिने निर्णयमा पुगेँ’ उनले ट्वीटरमा लेखेका छन्, ‘जो ढिलो या चाँडो मेरा लागि अनिवार्य थियो । प्रिय जनहरू, असम्भव जस्तो लागे पनि म खरो उत्रनेछु ! धैर्यता र सहयोगका लागि अपिल गर्दछु !’
राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देनसँगै ध्रुवबहादुर प्रधान र विक्रम पाण्डे मन्त्री बन्ने भएका छन् । सत्ता गठबन्धनमा भएको भागबन्डामा राप्रपाले तीन मन्त्री र एक राज्यमन्त्री पाएको छ ।
सहरी विकासमन्त्री उपाध्यक्ष पाण्डे जाने भएका छन् भने प्रधान कानुमन्त्री बन्ने भएका छन् । सुरुमा प्रधानलाई सहरी विकास मन्त्रालय भनिएको थियो । तर पाण्डेले युवा तथा खेलकुदमा जान चाहेनन् ।
अहिले मन्त्रालय साटफेर भएको छ । राप्रपाले युवा तथा खेलकुद छाडेर कानुन लिएको छ । त्यसमा प्रधानलाई पठाएर पाण्डेलाई शहरी विकास मन्त्री दिने तय भएको एक पदाधिकारीले जानकारी दिए । राज्यमन्त्रीमा दीपक सिंहको सम्भावना छ ।
Comments