मेचीनगरमा मेलमिलाप सम्बन्धी ८ दिवसीय आधारभूत तालिम सुरु
Published:
by .मेचीनगर । दिगो शान्तिका लागि, उन्नत सम्बन्ध भन्ने मूल नाराका साथ झापाको मेचीनगर नगरपालिकामा आजदेखि ८ दिवसीय मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु भएको छ ।
आगामी माघ १६ गतेसम्म सञ्चालन हुने तालिम न्यायिक समिति मेचीनगरको आयोजनामा सञ्चालन भएको हो । मेलमिलाप सम्बन्धि आधारभूत तालिमको उद्घाटन गर्दै मेचीनगर नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक मीना पोखरेल उप्रेतीले न्यायिक कार्य सम्पादनमा मेचीनगर अगाडि रहेको दावी गरिन् । उनले आजबाट सुरु भएको तालिमले आगामी दिनमा नगरका प्रत्येक वडामा न्याय सम्पादनमा अझ टेवा पुग्ने बताइन् ।
सो कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत होम भण्डारी, वरिरष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, मेचीनगर वडा नं. ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, कार्यपालिका सदस्य तथा भौतिक पूर्वाधार विकास समिति संयोजक चित्रकुमार धिमाललगायते सम्बोधन गरेका छन् । उनीहरुले वडाबाट छनोट भएर तालिममा सहभागी प्रतिनिधिहरूले अब यस तालिमको मद्दतले आगामी दिनमा मेलमिलापको सम्बन्धमा आ–आफ्नो क्षेत्रमा कुशलतापुर्वक जिम्मेवारी निर्वाह गर्नसक्ने अपेक्षा राखेको बताए ।
प्राकृतिक स्रोत द्वन्द रूपान्तरण केन्द्र नेपालको सहजीकरण रहेको तालिममा नगरका १५ वटै वडाबाट छनोट भएका ३५ जना प्रशिक्षार्थी सहभागी भएका छन् । मेचीनगर न्यायिक समिति अधिकृत इन्दिरा खरेलका अनुसार तालिममा सहभागीहरुलाई संगीता थापाले सहजीकरण गरिरहेकी छन् । न्यायिक समिति सदस्य हरिनारायण न्यौपानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन न्यायिक समिति सदस्य कुन्दन निरौलाले गरेका छन् ।
Comments