Sajhamanch Archive

नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा खेलाडीहरु धमाधम पक्राउ गरिँदै

Published: in अर्थतन्त्र, खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by .

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा पुस ९ देखि २७ सम्म भएको नेपाल टी–२० लिग प्रतियोगितामा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा खेलाडीहरु धमाधम पक्राउ परिरहेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार नेपालका चार र विदेशी ६ जना फिक्सिङमा संलग्न भएको देखिएको छ ।

उनीहरुमध्ये महबुब आलम र आदिल अन्सारीसहित थप एक जनालाई पक्राउ गरिएको सीआईबी स्रोतले जनाएको छ । यद्यपि तेस्रो व्यक्तिको नाम खुलाइएको छैन । संलग्न अरुको खोजी भइरहेको सीआईबी स्रोतले जनाएको छ ।

घटनामा संलग्न विदेशीले भने नेपाल छाडिसकेको सीआईबीले बताएको छ ।

कस्तो सजाय होला ?

पक्राउ परेकाहरु विरुद्ध राज्य विरुद्ध कसुर अभियोगमा अनुसन्धान हुने भएको छ । सीआईबी स्रोतका अनुसार स्पट फिक्सिङमा मुलुकी अपराध संहिता र राष्ट्रिय खेलकुद विकास ऐन आकर्षित हुन्छ ।

मुलुकी अपराध संहिताको दफा ५१ (३) मा नेपालको प्रतिनिधित्व गरी नेपाल वा विदेशमा हुने खेलमा मिलोमतो गरे राष्ट्रहित विरुद्धको कसुर भएको मानिने उल्लेख छ । यसमा दोषी ठहर भए ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवना हुने उल्लेख छ ।

राष्ट्रिय खेलकुद विकास ऐनमा भने नेपालभित्र वा नेपालको प्रतिनिधित्व गरी खेलिने कुनै पनि खेलमा मिलेमतो गराउन नहुने उल्लेख छ । मिलेमतो गरेमा ३ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था छ । साथै लेनदेन भएको रकम पनि जफत गरिने ऐनमा उल्लेख छ ।

त्यस्तै यस्तो कसूर गर्न आदेश वा निर्देशन दिने, त्यस्तो कसूर गर्न दुरुत्साहन दिने, उक्साउने वा मद्दत गर्नेलाई पनि यही सजाय हुनेछ । यस्तो कसूर गर्ने सार्वजनिक पद धारण गरेको व्यक्ति भएमा उनलाई थप ३ वर्ष कैद हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *