Sajhamanch Archive

श्रमिक हितकोषका सदस्यलाई बिर्तामोड नगरपालिकाको ५० हजार राहत

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by .

बिर्तामोड । नगरपालिकाको श्रमिक हितकोषको तर्फबाट आज एकजना श्रमिकलाई राहत प्रदान गरिएको छ । केही महिना अघि देउनिया पूलमा भएको ट्रक दुर्घटनामा परेर घाइते भएका बिर्तामोड नगरपालिका वडा नम्बर २ का बुधलाल राजवंशीलाई ५० हजार रुपैयाँ राहत प्रदान गरिएको हो ।

श्रमिक हितकोषका संयोजक तथा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईले उक्त रकमको चेक आज राजवंशीलाई हस्तान्तरण गरेकी हुन् । राजवंशी ईंटा ढुवानी मजदूर हुन् ।

बिर्तामोडमा नगरपालिकाले जारी गरेको श्रमिक सञ्चालन कार्यविधि २०७५ अनुसार श्रमिक हितकोष सञ्चालनमा छ । सो कोषबाट राहत पाउनको लागि श्रमिक सूचिकृत हुनुपर्ने व्यवस्था रहेको कोषका सचिव तथा नगरका रोजगार शाखा संयोजक होमनाथ भट्टराईले जानकारी दिएका छन् ।

बिर्तामोड नगरपालिकाले स्थापना गरेको सो कोषमा हालसम्ममा १ हजार २९६ जना सूचिकृत भएको जनाइएको छ । सो कोषमा सूचिकृत हुने मजदुरहरुको सामुहिक बीमा गरिने भएकाले श्रमिकको मृत्यु भएमा ७ लाख रुपैयाँ र कार्यस्थलमा दुर्घटना भई घाइते भएमा अधिकतम ७० हजार रुपैयाँ बीमा रकम पाउने व्यवस्था छ ।

बिर्तामोडमा निर्माण मजदुर, ढुवानी मजदुर, यातायात क्षेत्रका मजदुर र विद्युत तथा रङ्गरोगन क्षेत्रका मजदुरहरु सूचिकृत छन् । राहत चेक हस्तान्तरण कार्यक्रममा कोषका सदस्य अम्बिरकुमार लिङ्देन, भुपाल सापकोटा, सिता सापकोटा, गोकुल राजवंशी लगायतको उपस्थिति थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *