पाण्डे परिवारमा एमालेको समवेदना
Published:
by .बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. १ का वडाध्यक्ष अग्नि पाण्डेका माइला छोरा निराकार पाण्डेको शव नेपाल ल्याएर दाहसंस्कार गरेपछि अहिले घरमा नै दशगात्र कर्म चलिरहेको छ । राजनीतिक, सामाजिक तथा व्यवसायिक संघ–संस्थाहरुबाट परिवारजनमा समवेदना गर्न आउनेहरु दैनिक ठूलो संख्या हुने गरेको छ ।
सोही शिलशिलामा आज बिहीबार नेकपा एमाले जिल्ला कमिटी, नगर कमिटी, वडा कमिटीसहित सामाजिक व्यवसायिक संस्थाहरुले एकसाथ समवेदना प्रकट गरेका छन् । नेकपा एमालेका केन्द्रीय सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराईसमेतको उपस्थितिमा नेकपा एमालेले कम्बोडियामा ज्यान गुमाएका निराकार पाण्डेको परिवारलाई समवेदना प्रकट गरेका छन् ।
आज पाण्डेको बिर्तामोडस्थित निवासमा पुगेर निराकारप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा नेता भट्टराईले समवेदना व्यक्त गरेका हुन् । भट्टराईसहित नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् झापा इञ्चार्ज अग्नि खरेल, केन्द्रीय सल्लाहकार मनकुमार गौतम, जिल्ला अध्यक्ष दिपक कार्कीसहित एमालेका विभिन्न तहका नेता कार्यकर्ताहरुले घरमै पुगेर परिवारजनमा समवेदना व्यक्त गरेका हुन् ।
सोही अवसरमा नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संस्थाका सदस्य अग्नि पाण्डेलाई दशगात्र कर्म सहयोग वापत १० हजार रुपैयाँ प्रदान गरेको छ । संस्थाको नीति अनुसार सदस्य परिवारका कसैको मृत्यु भएमा दशगात्र कर्म सहयोग वापत १० हजार रुपैयाँ प्रदान गर्ने गरिन्छ । उक्त रकम र समवेदना पत्र सञ्चालक समिति सदस्य डम्बरबहादुर बस्नेतले हस्तान्तरण गरेका हुन् ।
समवेदना प्रदान गर्न आएका एमाले नेता कार्यकर्ताहरुलाई आभार प्रकट गर्दै वडाध्यक्ष पाण्डेले आफ्नो छोराको शव नेपालसम्म ल्याउन एमालेका नेताहरुले गरेको योगदानको प्रशंसा गरे । भावुक हुँदै उनले भने, ‘पार्टीमा लाग्नु भनेको दुःखमा साथ पाउनु पनि हो रहेछ, एमालेका नेताहरुले पहल नगर्नु भएको भए निराकारको शव यतिछिटै ल्याउन पनि सकिने रहेनछ । पार्टीप्रति पनि कृतज्ञता प्रकट गर्दछु ।’
गत पुष १४ गते कम्बोडियाको पोइपेटस्थित एक क्यासिनोमा भएको भीषण आगलागीमा परी पाण्डेको मृत्यु भएको थियो ।
Comments