बाबुसँग लेनदेन नमिलेपछि छोराको अपहरण
Published:
by .झापा । झापामा १० दिनअघि अपहरणमा परेका एक किशोरको प्रहरीले उद्धार गरेको छ । बिर्तामोड ३ भगवान चोक निवासी २१ वर्षीय राजीव बस्नेतलाई प्रहरीले अपहरणकारीको पन्जाबाट शनिबार साँझ मुक्त गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी रुगमबहादुर कुँवरले जानकारी दिएका छन् ।
राजीव गत माघ ५ गते बिहान इलामको श्रीअन्तु घुम्न भनी घरबाट निस्किएका थिए । प्रदेश १–०१–०१५ प ८०९७ मोटरसाइकल चढेर गएका उनी साँझसम्म नफर्किएपछि परिवारले प्रहरीलाई हुलियासहित उजुरी दिएको थियो ।
डीएसपी कुँवरका अनुसार बुद्धशान्ति घर भई हाल भारतको मणिपुरमा बसेर व्यापार गर्ने राजु भनिने राजकुमार भण्डारी नामको व्यक्तिको संलग्नतामा राजीवको अपहरण भएको खुलासा भएको छ। राजीवका बाबु कमल बस्नेत र भण्डारी पहिले व्यापार साझेदार थिए । तर, पछिल्लो समय आर्थिक लेनदेनमा विवाद भएपछि यी दुईबीच मनमुटाव सुरु भएको थियो । उनीहरु सुन व्यापारमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
‘पीडितका बाबु र भण्डारी पुराना कारोबारी रहेछन् । व्यापारको कुरामा लेनदेनको समस्या रहेछ, त्यही निहुँमा राजीवलाई अपहरण गरिएको खुलेको छ’ डीएसपी कुँवरले भने, ‘बस्नेतले भण्डारीलाई रकम तिर्न बाँकी रहेको र त्यही कारण भाडाका मान्छे परिचालन गरेर छोरालाई उठाइएको पाइयो ।’
१० दिनसम्म अज्ञातस्थलमा राखिएका उनलाई प्रहरीले उद्धार गरी परिवारको जिम्मा लगाएको छ । अपहरणकारीले छोरालाई छुटाउन फिरौती रकम मागे पनि परिवारले भने नदिएको प्रहरीले दाबी गरेको छ ।
Comments