Sajhamanch Archive

संसद् भवनमा पत्रकारलाई रोक्नुपर्ने कुनै कारण छैन : सभामुख घिमिरे

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदमा पत्रकारहरूलाई सहज रूपमा रिपोर्टिङ गर्ने वातावरण बनाउने विश्वास दिलाएका छन् ।

संसदीय मामिला पत्रकार समाजसँग आबद्ध पत्रकारहरूसँग सोमबार परिचयात्मक भेटघाट कार्यक्रममा सभामुख घिमिरेले पत्रकारहरूलाई संसदमा सहज रूपमा रिपोर्टिङ गर्ने वातावरण बनाउने बताएका हुन् ।

सभामुख घिमिरेले मिडियाले समाजलाई समयमै सूचना तथा समाचारहरू सम्प्रेषण गर्ने र समाजलाई परिवर्तन गर्न भूमिका खेल्ने भन्दै संसद् भवनमा पत्रकारहरूलाई रोक्नुपर्ने कुनै कारण नभएको जिकिर गरेका छन् । पत्रकारहरूलाई परेको असहजतालाई हटाउनका लागि आफूले ध्यान दिने उनको भनाइ छ ।

सभामुख घिमिरेले पत्रकारले सम्प्रेषण गर्न लागेको कुरालाई संसद् सचिवालय अथवा सभामुखले रोक्ने स्थिति आउन नदिने प्रतिबद्धता पनि जनाएका छन् ।

‘मिडिया भनेकै भइरहेका कुराहरूलाई समाजलाई समयमै सम्प्रेषण गरेर सचेत गराउने होला । अब हुने कुराहरू भनेको देश निर्माणका लागि, समाजलाई परिवर्तन गर्नका लागि, अग्रगति दिनका लागि गरिएका प्रयत्नहरू र गरिएका निर्णयहरू हुन् । ती निर्णयहरूलाई, पत्रकारहरूलाई रोक्नुपर्ने, छेक्नुपर्ने, असजिलो पार्नुपर्ने, अप्ठ्यारो पार्नुपर्ने हुँदैन । पत्रकारहरूले पनि नभएका, नचाहिँदा, नहुने कुराहरू गर्न लागेको भए पो ती कुराहरू कसरी प्राप्त गर्ने ? के गर्दा प्राप्त गर्ने ? कोसँग बसेर प्राप्त गर्ने ? कोसँग जुधेर प्राप्त गर्ने ? तर त्यो नभएपछि यी कुराहरू सहज ढङ्गले जाने कुराहरू हुन्। हाम्रो हलको अवस्था, त्यहाँ भित्रको सुरक्षाको कुरा, त्यहाँ भित्रका अन्य प्रबन्धका कुराहरूलाई मिलाउने सन्दर्भमा भएका अप्ठ्याराहरूलाई सहजता गर्न सकिने के छ त्यसलाई अपनाउने कुरा सामान्य कुरा हो ।’

पत्रकार जनताका बीचमा सही कुरा सम्प्रेषण गर्न लाग्ने, सही कुरा रोक्नको लागि चाहिँ संसद्, संसद् सचिवालय, सभामुख आदि लाग्नुपर्ने यस्तो स्थिति आउनुपर्ने कारणहरू छैन, आउँदैन, आउनु हुँदैन । जहाँसम्म गोप्य राख्दाखेरी त्यो फाइदा हुन्छ भने त्यसलाई नै प्रसारण गर्दाखेरी फाइदाको विरुद्धमा बेफाइदा हुँदैन र ? मानिलिनुस् कुनै एउटा कुरा मैले गोप्य राख्नुपर्छ यसलाई कुनै खास समयसम्म भन्ने ठाने तर यसलाई छिटो बाहिर लानैपर्छ भन्ने ठान्यो भने यो त बुझाबुझमा न समस्या भयो’ सभामुख घिमिरेको भनाई थियो ।

समाजलाई सचेत गराउन पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने बताउँदै सभामुख घिमिरेले समाजलाई सचेत बनाउने भूमिकामा पत्रकारितालाई लानुपर्नेमा जोड दिए । पत्रकारिता क्षेत्रमा देखिएका कमी, कमजोरीहरूलाई अन्त्य गर्नुपर्ने र पत्रकारितालाई तेस्रो आँखाको रूपमा विकास गर्नुपर्ने उनले सुझाव दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *