प्रतिबन्धित भारतीय चिट्ठा खुलेआम बिक्री भइरहँदा पनि प्रहरी मुकदर्शक !
Published: (Updated: )
by .झापा । नेपालको सीमावर्ती बजारमा प्रतिबन्धित भारतीय चिट्ठा खुलेआम बिक्री वितरण भइरहेको भए पनि प्रहरीले चासो दिएको छैन । नेपालबाट दैनिक १० लाख रुपैयाँ भन्दाबढी रकम प्रतिबन्धित चिट्ठाको कारोबारमा भारत गइरहेको पाइएको छ । तर प्रहरी मुकदर्शक बन्दा नेपाली भूभागमा प्रतिबन्धित भारतीय चिट्ठा सीमावर्ती बजारमा खुलेआम बिक्री वितरण भइरहेको पाइएको हो ।
भारतको पश्चिम बंगाल, सिक्किम, नागालैण्डका प्रतिबन्धित चिट्ठाहरु झापाको सीमावर्ती नाका भद्रपुरको मुख्य बजार र पुरानो नगरपालिका कार्यालय नजिक, बिर्तामोडस्थित भद्रपुररोडको बस स्टेन्ड, धुलाबारीको पुरानो हङकङ बजार, काँकरभिट्टाको बसपार्क, सुपारीलाइन, भट्टराई चोक, बाहुनडाँगी रोड, भन्सार कार्यालय र इप्रका पछाडि, ट्याक्सी स्टेन्ड छेउछाउ, सतिघट्टा रोड लगायतका ठाउँहरुमा बिक्री भइरहेको पाइएको हो ।
नेपाल–भारतको सीमा नाका सिलगढी, नक्सलबाढी र पानीट्याङ्कीबाट दिनहुँ आउने चिट्ठा भारतीय तथा नेपाली कारोबारीको सेटिङमा बिक्री वितरण हुँदै आइरहेको पाइएको छ । भारतीय चिट्ठा कारोबारीको बिगबिगी बढ्दा पनि यसको रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीले सक्रियता नदेखाएकोमा स्थानीयबासी चिन्तित बनेका छन् । प्रहरीकै अगाडि कारोबारीले खुलेआम सर्वसाधारणलाई चिट्ठा बिक्री गर्दा पनि प्रहरीले नदेखेको जस्तो गरेको स्थानीयको भनाई छ ।
यसको लतमा लागेर नेपाली नागरिक घरबारविहीन हुन थालेको स्थानीयको गुनासो छ । सुरक्षाकर्मीले चिट्ठा कारोबारीमाथि सीमा क्षेत्रमा कडाइका साथ निगरानी नबढाएका कारण यसमा सक्रिय गिरोहले खुलेआम बिक्री वितरण गरिरहेको पाइएको हो । चिट्ठामा १ करोड भारतीय रुपैयाँ पर्ने भन्दै गिरोहले बिहान, दिउँसो र बेलुकाको समयको सर्वसाधारणलाई चिट्ठा बेच्ने गरेका छन् ।
भारतीय बजारमा छ्याप छ्याप्ती पाउने चिट्ठा नेपालका कारोबारीले गोजीमा, झोलामा र पसल–पसलमा बेच्ने गर्छन् । यस्तो अवैध धन्दा नियन्त्रण गर्न सामाजिक संघ–संस्थाहरु पनि जुट्नुपर्ने स्थानीय बासिन्दाको भनाई छ ।
झापाका जिल्ला प्रहरी प्रमुख एसपी दुर्गाराज रेग्मीले प्रतिबन्धित भारतीय चिट्ठाको विषयमा जानकारी आएको बताए । उनले सीमा नाकाका सबै प्रहरी युनिटलाई खबर गरी भारतीय चिट्ठा भित्राउन नदिन कडाई गरिने बताए । त्यस्तो कारोबार गरेको भेटिए पक्राउ गरी कारवाही गरिने पनि एसपी रेग्मीले बताए ।
चिट्ठा ऐन, २०२५ को दफा २ अनुसार नेपाल सरकारले अनुमति दिएकोमा बाहेक कसैले चिट्ठाको खरिद बिक्री गर्ने काम गर्न वा गराउन पाइँदैन । ऐन विपरीत चिठ्ठाको कारोबार गरिएमा बिगो जफत भई बिगो बमोजिम जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
Comments