झापामा सुरक्षा निकायका प्रमुखहरुसँग सामुहिक अन्तरक्रिया
Published:
by .बिर्तामोड । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जिल्लामा शान्ति सुरक्षा तथा सुशासन कायम राख्न नागरिक समाज र निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।
बुधबार बिर्तामोडमा आयोजित एक अन्तरक्रियामा बोल्दै प्रजिअ पोखरेलले सरकार, नागरिक समाज र निजी क्षेत्रको समन्वय राम्रो भएमा सुशासनको अवस्था मजबुत हुने बताए ।
संवाद समूह झापाको संयोजनमा भएको अन्तरक्रियामा प्रजिअ पोखरेलले झापामा रेलवे प्रभावितहरुको मुआब्जाको समस्या, चिया क्षेत्रको समस्या, मेची प्रादेशिक अस्पतालको सेवा सुधार लगायतका जिल्लाका मुख्य समस्यामा आफू गम्भीर रहेको र समाधानका लागि अधिकतम् पहल गर्ने बताए ।
सो कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपानेले जिल्ला प्रशासनको सूचना संयन्त्रमा सुधार गर्ने, बजार अनुगमनलाई प्रभावकारी बनाउने बताउँदै लागूऔषध, मिटरब्याजी, वैदेशिक रोजगारीमा हुने ठगी लगायतका विषयमा बताएका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी, सशस्त्र प्रहरी बल नेपाल २ नं। गण झापाका सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्याल, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उपअनुसन्धान निर्देशक तुलसीराम प्रसाईंले जिल्लामा नागरिक समाज र सञ्चार क्षेत्रसँग समन्वय गरेर काम गर्ने बताए ।
त्यसैक्रममा संवाद समूहका सदस्यहरुले जिल्लामा संवाद समूहले गरिरहेको काम, अभ्यास र संवाद संस्कृतिको बारेमा बताएका थिए । उनीहरुले जिल्लाका समसायिक सवालका बारेमा समेत कुरा राखेका थिए ।
कार्यक्रममा पत्रकारहरुले विभिन्न सुझाव राखेका थिए । प्रजिअ पोखरेलसहित झापामा विभागीय जिम्मेवारी सम्हाल्न भर्खरै आएका सुरक्षा निकायका प्रमुखहरुलाई स्वागत सम्मानसहित कार्यकाल सफलताको शुभकामना व्यक्त गरिएको थियो ।
Comments