Sajhamanch Archive

सडक किनारको नाला निर्माणमा कमसल सामग्री प्रयोग, नियामकको ध्यान कता ?

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, by .

भद्रपुर । हुलाकी सडक अन्तरगत लिङ्करोडका रूपमा रहेको चारआली—केचना सडक खण्डको चन्द्रगढी विपीचौक उत्तरी क्षेत्रमा भइरहेको सडकको नाला निर्माणमा कमसल सामग्री प्रयोग भए पनि नियामकको ध्यान पुग्न सकेको छैन ।

सडक निर्माण ठेकेदार कम्पनीले पेटी ठेकेदारलाई जिम्मा लगाएको नाला निर्माणको कार्यमा गुणस्तरहीन सामग्री प्रयोग भइरहँदासमेत नियामक हुलाकी सडक परियोजनाका प्राविधिक निर्माणस्थलमा नबस्दा गुणस्तरमाथि प्रश्न उठेको हो ।
सडक निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले गरेको कामको गुणस्तर अनुगमन गर्ने जिम्मेवारी पाएको हुलाकी सडक परियोजनाका प्राविधिक निर्माण स्थलमा कुनै पनि दिन नदेखिएको स्थानीयले बताएका छन् ।

सडक निर्माणमा ठेकेदारले गुणस्तरहीन ईंटा प्रयोग गरिरहेको पाइएको छ । नाली निर्माणका क्रममा अधिकांश स्थलमा निर्माण व्यवसायीले सम्झौता विपरित निर्माण सामग्री प्रयोग गरिरहे पनि सरकारी पक्ष रमिते मात्र हुँदा निर्माण व्यवसायीको मनोमानी चलिरहेको प्रत्यक्षदर्शीको भनाई छ ।

सडकको नाला निर्माण गुणस्तर बारे स्थानीय राजनीतिक दल, सामाजिक अगुवा लगायत सरकारी निकाय मौन देखिएका छन् । जसको बल निर्माण व्यवसायीमाथि थपिँदा गुणस्तरमा मनोमानी चलिरहेको हो ।

निर्माण पक्षले नाली बनाउने काम गरिरहे पनि परियोजनाका प्राविधिक निर्माण स्थलमा जाने गरेका छैनन् । गुणस्तरमाथि निगरानी नहुँदा निर्माण पक्षधरका मजदुरकै तजविजमा काम भइरहेको देखिएको स्थानीय रामबाबु खतिवडाको भनाई छ ।

सदरमुकाम चन्द्रगढीदेखि चारआलीसम्म नाला निर्माणको काम बाँकी रहेको छ । अहिले सोही क्षेत्रमा निर्माण भइरहेको नालाका लागि प्रयोग गरिएको ईंटा अन्यत्रै प्रयोग भएर भत्काइएको पर्खालको कमसल ल्याइएको देखिएको छ । काममा खटिएका मजदुरहरू पनि पुराना तथा कमसल ईंटामै काम भइरहेको स्वीकार गर्छन् ।

यसैगरी हुलाकी सडक परियोजना अन्तरगत भएको कालोपत्रे फुट्ने तथा भत्कने क्रम पनि सुरू भएको छ । दुईवर्ष अगाडि गरिएको कालोपत्रे गुणस्तरहिन भएकै कारण भत्कन थालेपनि हुलाकी सडक परियोजनाका प्राविधिकले निर्माण कम्पनीलाई कार्वाहीका लागि कुनै पहल गरेका छैनन् । राज्य पक्षको नियामक उदासिन हुँदा सडक निर्माणमा निर्माण ठेकेदारको मनोमानी भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *