मेचे समुदायले मनाए ६६औं बाथौ शिव धरम माघी पूर्णिमा पर्व
Published:
by .मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा बसोबास रहेका मेचे समुदायले ६६औं बाथौ शिव धरम माघी पूर्णिमा पर्व पूजा आरधानासहित विविध कार्यक्रम गरी भव्यरूपमा मनाएका छन् । नेपालको लोपोन्मुख जातिको सूचिमा रहेको मेचे जातिले माघी पूर्णिमाको अवसर पारेर शनिबार र आइतबार दुई दिन माघी पूर्णीमा पर्व मनाएको हो ।
नेपालको ७७ जिल्लामध्ये झापामा मात्रै बसोबास रहेको लोपोन्मुख मेचे समुदायले प्रत्येक वर्ष माघी पूर्णिमाको अवसरमा मनाउँदै आएको माघी पूर्णिमा पर्व कोरोना भाइरस संक्रमणका कारण बिगत दुई वर्ष मनाउन पाएका थिएनन् । तर, अहिले कोरोना संक्रमण दर न्यून रहेका कारण यसवर्ष नेपालसहित भारत र भुटानका मेचे समुदाय एकै ठाउँमा भेला भएर माघी पूर्णिमा पर्व मनाएका हुन् ।
झापाको मेचीनगरमा, भद्रपुर, बिर्तामोड र कचनकवल लगायतका स्थानीय तहमा बसोबास गर्ने मेचे समुदाय उपस्थित रहेको माघी पर्वमा छिमेकी मुलुक भारतको आसाम र बंगाल तथा भुटानबाट पनि मेचे समुदायका अगुवाहरुको सहभागिता थियो । पुर्खौदेखि मनाउँदै आएका माघी पूर्णिमा पर्वमा मेचे समुदायले मंसिरमा उत्पादन भएको नयाँ धानलाई पूजा गरी भाक्का (फेट्टो) प्रसादको रुपमा खाने गरेको समुदायका अगुवा रुपेश मेच बताउँछन् ।
पछिल्लो समय युवा पुस्तामा आफ्नो कला संस्कृति र धर्म सम्बन्धी ज्ञानको अभाव हुँदा मेचे समुदायको पहिचान लोप हुँदै गइरहेको छ । त्यसलाई संरक्षण र प्रवर्धन गर्न नेपालमा त्रिदेशीय माघी पूर्णिमा पर्व आयोजना गरिएको मेचे समाज शिवियारी आफात केन्द्रीय समिति उपाध्यक्ष सन्तोष मेचेले जानकारी दिए ।
मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बुढाथोकीले नेपालको लोपोन्मुख जाति मेचे समुदाय मेचीनगरको सम्पत्ती भएको बताए । उनले स्थानीय सरकार मेचे समुदायसहित अन्य समुदायको धर्म संस्कृतिको संरक्षण र प्रवर्धनमा प्रतिबद्ध रहेको पनि विश्वास दिलाए । समाज निर्माण गर्न असल संस्कार आवश्यक रहेको बताउँदै नगरप्रमुख बुढाथोकीले सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताएका थिए ।
कार्यक्रममा मेचीनगरका उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर ८ का वडाध्यक्ष गिरीराज धमला, मेचीनगर ४ का वडाध्यक्ष अर्जुन कार्की, कार्यापालिका सदस्य तथा सामाजिक विकास संयोजक हृदयेस राजवंशी, भौतिक पूर्वाधार विकास समिति संयोजक चित्र धिमाल, मेचीनगर ८ का वडा सदस्य बिष्णु भट्टराई, नेपाल थामी समाजका केन्द्रीय उपाध्यक्ष लालबहादुर थामीलगायत नेपाल तथा भारतका विभिन्न व्यक्तिहरुको आतिथ्यता थियो ।
मेचे समाज शिवियारी आफात केन्द्रीय समिति नेपालको आयोजनामा भएको कार्यक्रममा मेचेसंगै अन्य विभिन्न जातजातिको झाँकी प्रस्तुत गरिएको थियो । मेचे समुदायका अग्रज भारत आसामका थानेश्वर बर्माको अध्यक्षतामा आयोजित कार्यक्रमको स्वागत सन्तोष मेचेले गरेका थिए भने कार्यक्रमको सञ्चालन अग्निमाया मेचेले गरेकी थिइन् ।
Comments