सहयोगी मनहरु नेपालद्वारा गौरादहमा आँखा स्वास्थ्य शिविर सम्पन्न
Published:
by .गौरादह। गौरादह नगरपालिका वडा नम्बर ९ मा सहयोगी मनहरु नेपालको आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
बलभद्र आधारभूत विद्यालयमा आयोजना गरिएको शिविरलाई गौरादह नगरपालिकाका नगरप्रमुख छत्रपति सुवेदीले आँखा जाँच गरेर उद्घाटन गरेका हुन् ।
शिविरमा २४६ जनाले सेवा लिएको र उनीहरुलाई आँखा जाँच र औषधी निःशुल्क वितरण गरिएको संस्थाका महासचिव विष्णु उप्रेतीले जानकारी दिएका छन् ।
चस्मा लगाउनु पर्ने विरामीहरुका लागि २०० रुपैयाँ लिएर चिकित्सकको सल्लाह अनुसारको चश्मा प्रदान गरिएको जनाइएको छ । चेक जाँचमा ६ जनाले शल्यक्रिया गर्नुपर्ने अवस्था देखिएको छ ।
शिविरलाई मेची आँखा अस्पताल बिर्तामोडले प्राविधिक सहयोग गरेको थियो । शिविरमा जेष्ठ नागरिकसँगै बालबालिका तथा वयस्क उमेर समुहकाहरुले पनि आँखा परीक्षण गराउन आएका थिए ।
शिविरमा आँखा चिलाउने, दुख्ने, पाक्ने, सुन्निने, मोतियाबिन्दु जस्ता समस्या देखिएको शिविरमा सहभागी आँखा रोग विषेशज्ञ डा. पुष्प अधिकारीले जानकारी दिएका छन् ।
गाउँका बासिन्दालाई सहज स्वास्थ्य सुविधा दिनका लागि गाउँमै स्वास्थ्य शिविर आयोजना गरिएको सहयोगी मनहरु नेपालका अध्यक्ष भीम आचार्यले बताए ।
Comments