उजारुको घर बनाउन वीरता जेसीजको सहयोग
Published:
by .बिर्तामोड । राष्ट्रिय झण्डाको झण्डोतलन गरेर आफ्नो कार्यकाल थालेका सन् २०२३ का लागि वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरीले पहिलो दिन नै मानवीय सहयोग गरेका छन् ।
विगतमा दुर्गा मावि गरामनीलाई करोडौंको जग्गा दान दिएर अहिले बिचल्लीमा परेका जग्गादाता स्वर्गीय उजारु राजवंशीको परिवारका लागि घर निर्माणमा उनले सहयोग गरेका हुन् । वीरता जेसीजले बिर्तामोड ९ का राजवंशीको घर निर्माणका लागि २१ हजार १५ रुपैयाँ सहयोग गरेको हो ।
राजवंशीको घरमै पुगेर वीरता जेसीजका अध्यक्ष चौधरी, नेपाली कांग्रेसका नगर सभापति भोजराज सिटौला लगायतले सो रकम स्व. उजारुकी श्रीमती चम्पा राजवंशी र भवन निर्माण समितिका संयोजक कृष्णप्रसाद पाठकलाई हस्तान्तरण गरेका हुन् ।
जेसीजका अध्यक्ष चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर सभापति सिटौला, भवन निर्माण समितिका संयोजक पाठक लगायतले मन्तव्य राखेका थिए ।
वर्तमान र निवर्तमान समितिको संयुक्त बैठकले स्व. उजारुको घर निर्माणका लागि सहयोग गर्ने निर्णय गरेको कार्यक्रम संयोजक तथा कार्यकारिणी उपाध्यक्ष टीकाराम खतिवडाले बताए । महासचिव जनक खड्काले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्यसहित खतिवडाले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए ।
कार्यक्रममा जेसीज आस्था वाचन तथा धन्यवाद ज्ञापन कानुनी सल्लाहकार एलसी श्रेष्ठले गरेका थिए । करिव ५ लाख रुपैयाँको लागतमा तीन कोठे पक्की घर बनाइदिन लागेको उजारु राजवंशी भवन निर्माण समितिका सदस्य इन्द्रसिंह राजवंशीले बताए । घर निर्माणका लागि विभिन्न दाताहरुले सहयोग गर्ने बचन दिएको उनले जानकारी दिए ।
Comments