Sajhamanch Archive

‘बजेट कटौतीले अर्थतन्त्र धरासायी बन्ने संकेत’ सभामुख घिमिरे

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by .

झापा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले देशको अर्थतन्त्र संकटमा पर्दै गएकोमा आफू चिन्तित रहेको बताएका छन् । आफूले सभामुखको तर्फबाट संसदमा आर्थिक अवस्था सुधारका लागि भूमिका निर्वाह गर्ने पनि उनले आश्वासन दिएका छन् ।

झापाको बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको समुद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् । दुई सयभन्दा बढी व्यापारिक स्टलहरु रहेको महोत्सवको सभामुख घिमिरेले दिप प्रज्वलन गरी समुद्घाटन गरेका हुन् ।

आर्थिक रूपमा देश समृद्ध बनाउनका लागि सरकार र नीजि क्षेत्र दुवै मिलेर चुनौतिहरूको सामना गर्नुपर्ने सभामुख घिमिरेको धारणा थियो । बिर्तामोड उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गरेर आर्थिक अवस्थालाई चलायमान बनाउन भूमिका निर्वाह गरेको भन्दै सभामुख घिमिरेले प्रशंसा पनि गरेका छन् ।

घोषित बजेटको २० प्रतिशत कटौती गर्न अर्थ मन्त्रालयले पत्रचार गरेको अवस्थाले मुलुकको अर्थतन्त्र धरासायी बन्ने संकेत गरेको भन्दै सभामुख घिमिरेले अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्र एकजुट भएर अघि बढ्नु पर्ने सुझाव दिए । उनले यस्तो महोत्सव सफल बनाउन निजी क्षेत्र स्थानीय, प्रदेश र संघीय सरकारका साथै राजनीतिक दलको भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गरे ।

आगामी फागुन १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा ४५ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक राजु न्यौपानेले बताए । महोत्सवमा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानका व्यवसायिक स्टलहरु रहेका छन् ।

महोत्सव समुद्घाटन समारोहमा उपसभामुख इन्दिरा राना मगरले बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव प्रदेश १ कै गौरवको विषय भएको बताउँदै सबै पक्षको सहकार्यमा महोत्सव सफल हुने बिश्वास ब्यक्त गरिन् ।

उपसभामुख रानाले समृद्ध मुलुक निर्माणका लागि कृषि उत्पादनमा लाग्नु पर्ने, महिला उद्यमीहरूले आत्मनिर्भर हुँदै सीप हस्तान्तरण गर्दै जानुपर्ने धारणा राखेकी थिइन् ।

कार्यक्रममा प्रदेश १ का उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले आर्थिक मन्दीका कारण सरकारको अवस्था कमजोर रहेको बताए । मन्त्री सिटौलाले सरकारले लगानी गरेर दिएका तालिम अनुत्पादक हुनुका साथै लक्षित वर्गले अनुदानसमेत प्राप्त गर्न नसकेको बताउँदै सहकारीका नाममा संगठित ठगी हुने गरेको आरोप पनि लगाए ।

महोत्सव समुद्घाटन समारोहमा सार्क चेम्बर अफ कमर्शका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले आर्थिक मन्दीका बीच पनि महोत्सवको आयोजना गरेर स्वदेशी उत्पादनहरुको बजारीकरण गर्न खोज्नु सराहनीय भएको धारणा राखे । उनले सरकार आउने र जाने क्रमले अर्थतन्त्रको विकासका लागि नीतिगत व्यवस्था हुन नसक्दा निजी क्षेत्र अप्ठ्यारो स्थितिमा पुगेको जिकिर पनि गरे ।

कार्यक्रममा संविधानसभा सदस्य मनकुमार गौतम, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य हेमराज ढकाल, कमला श्रेष्ठ, नेपाली कांग्रेस झापाका जिल्ला सभापति देउमान थेवे, नेकपा एमालेका नेता छविलाल विश्वकर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

महोत्सवका विषयमा बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक राजु न्यौपानेले स्वागतसहित औचित्य माथि प्रकाश पारेको कार्यक्रमको अध्यक्षता बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले गरेका थिए ।

कार्यक्रमको सञ्चालन संघका महासचिव अर्जुनकुमार मैनाली र सञ्चारकर्मीद्वय केशव भट्टराई तथा लीला अनमोलले गरेका थिए ।
महोत्सव समुद्घाटन समारोहका बीच बिर्तामोड उद्योग वाणिज्य संघले सभामुख घिमिरे र उपसभामुख रानालाई सम्मान पनि गरेको छ । सम्मानितद्वयको सम्मान पत्रको वाचन संघका सचिव कुशल खतिवडाले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *