Sajhamanch Archive

झापामा चार प्रतिभा एकसाथ पुरस्कृत

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, साहित्य by .

बिर्तामोड । जयन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले चारजना प्रतिभालाई पुरस्कृत गरेको छ । संस्थाको बिर्तामोडस्थित सभाहलमा आयोजित कार्यक्रममा वर्षोत्कृष्ठ कृति, विष्णु पद्म चन्द्र विशेष प्रतिभा पुरस्कार, वर्षोत्कृष्ठ महिला पत्रकारिता पुरस्कार तथा फरक क्षमताका प्रतिभा गरी चारवटा पुरस्कार प्रदान गरिएको हो ।

संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षता तथा साहित्यकार कोमल पोखरेलको प्रमुख आतिथ्यमा जयन्द्रप्रसाद प्रसाई उत्कृष्ट वर्षोत्कृष्ट कृति पुरस्कारबाट ‘महाभारा’ उपन्यासका स्रष्टा इलामका बसन्त बस्नेतलाई पुरस्कृत गरेको छ । २०७८ सालमा प्रकाशित साहित्यिक कृतिमध्ये महाभारा कृतिलाई वर्षोत्कृष्ट कृतिका रुपमा पुरस्कृत गरिएको हो ।

त्यसैगरी विष्णु पद्मा विशेष प्रतिभा पुरस्कारबाट पूर्व प्राज्ञसभा सदस्य पत्रकार तथा चित्रकार पवन राजवंशी र धनमाया वर्षोत्कृष्ट पत्रकारिता पुरस्कारबाट सिर्जना घिमिरे पुरस्कृत भएका छन् । पुरस्कृत कृतिकार तथा प्रतिभालाई प्रमुख अतिथि पोखरेल, संस्थाका अध्यक्षसहित उपस्थित अतिथिले सम्मान पत्र, दोसल्ला र नगद पुरस्कार हस्तान्तरण गरेका हुन् । तीनवटै पुरस्कारको राशी जनही २५/२५ हजार रहेको संस्थाका कोषाध्यक्ष डिल्लीराम प्रसाईले बताए ।

त्यसैगरी कोष स्थापनाको २०औं वर्ष पुगेको अवसरमा स्थापना गरेको फरक क्षमता भएका व्यक्तिलाई प्रदान गरिने ११ हजार नगद, सम्मान पत्र र दोसल्लासहितको पुरस्कारबाट विराटपोखर निवासी चन्द्रप्रसाद भट्टराईलाई प्रदान गरिएको सचिव राजेन्द्र प्रसाईले जानकारी दिए ।

साहित्य, शिक्षा, सामाजिक र संचार क्षेत्रका अगुवा तथा अग्रज व्यक्तित्वहरुको उपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथि पोखरेल, कोषका संरक्षक खगेन्द्र प्रसाई, अग्रज पत्रकार चन्द्र भण्डारी, प्रगतिशील लेखक संघका झापा अध्यक्ष राजेन्द्र संग्रौला, पूर्व पुरस्कृत कृष्ण बराल, पत्रकार उमाकान्त खनाल, सम्मानित व्यक्तित्वहरु लगायतले मन्तब्य राखेका थिए ।

स्वागत तथा औचित्य माथि कार्यक्रमका अध्यक्ष गोपीकृष्ण प्रसाईले प्रकाश पारेको कार्यकम संचालन गौतम शर्मा शिवाकोटीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *