क्यान्सर पिडित ताजपुरियालाई निर्धनले गर्यो १० हजार सहयोग
Published:
by .गौरादह । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गौरादह १ डिठ्ठाचोकका क्यान्सर पिडीत नन्दलाल ताजपुरियालाई उपचार सहयोग गरेको छ।
लघुवित्तको गौरादह शाखा मार्फत ताजपुरियालाई उपचारका लागि १० हजार नगद आर्थिक सहयोग गरिएको हो। कम्पनीका गौरादह शाखाका कर्मचारीहरुले पिडित ताजपुरियाको घरमै पुगी नगद हस्तान्तरण गरेका हुन्।
हस्तान्तरण कार्यक्रममा कम्पनीका गौरादह शाखा प्रमुख विवश घिमिरे, वडा नम्बर १ का वडाध्यक्ष नगेन्द्र भण्डारी, शाखाका कर्मचारीहरु र समूह सदस्यहरु लगायतको उपस्थिति रहेको थियो।
नगद हस्तान्तरण गर्दै शाखा प्रमुख घिमिरेले निर्धन उत्थान लघुवित्तले गर्दै आएका सामाजिक योगदानहरुको बारेमा चर्चा गरेका थिए। आफ्ना समूह सदस्य भित्र कुनै समस्या परेको खण्डमा निर्धन लघुवित्तले आर्थिक सहयोग गर्ने गरेको बताउँदै उनले पिडित ताजपुरियाको उपचारमा सानो सहयोग पुगोस् भन्ने उद्देश्यले सहायता रकम उपलब्ध गराइएको जानकारी गराए ।
नन्दु ताजपुरिया आर्थिक अभाव भएका कारण क्यान्सर रोगको उपचार गराउन पाएका छैनन्। नगरपालिका, दाताहरुबाट केही रकम उठाएर उपचार प्रयास गरिएको भएता पनि आर्थिक अभावकै कारण उनि घरमै थलिएर बसेका छन्।
आर्थिक अभावको ठूलो चपेटामा परेका उनलाई बचाउनका लागि वडाध्यक्ष नगेन्द्र भण्डारीले व्यक्तिगत रुपमा र नगरपालिका तथा वडा कार्यालयको तर्फबाट आवश्यक पहल गर्दै आएको बताएका छन्।
गम्भीर रोगले पिडित भई उपचार अभावमा घरमै थलिएका उनको अवस्था थप जटिल हुँदै गएको छ। आफ्नो श्रीमानको उपचारमा सहयोग पुर्याइदिन उनकी श्रीमतीले सार्वजनिक रुपमा सहयोगको लागि अपिल पनि गरेकी छिन्।
उनले भनिन्, ‘ऋणले थला परिएको अवस्था छ, एकातिर ऋणको भार अर्कोतिर श्रीमानको यो अवस्था, घरमा खाने अन्न छैन यो अवस्थामा म के गरौँ ?’ श्रीमती ताजपुरियाले सहयोगको याचना गर्दै भनिन्।
Comments