Sajhamanch Archive

पृथ्वीमा फेरि कुमारमणि : वित्तीय कारोबारको आंकडा बढ्दै

Published: in मुख्य समाचार, सहकारी by .

सुरुङ्गा । पृथ्वी बचत तथा ऋण सहकारी संस्था लिमिटेड कनकाई नगरपालिका वडा नं. ३ सुरुङ्गाको आज सम्पन्न छैटौं वार्षिक साधारणसभाले पुनः कुमारमणि पोखरेलको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ ।

झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाबाट उपाध्यक्षमा लक्ष्मीप्रसाद उप्रेती र सचिवमा शिवकुमार कंडेललाई पनि निरन्तरता दिइएको छ ।

संस्थाको सञ्चालक सदस्यहरुमा जनक कार्की, जविन तिम्सिना, भिमप्रसाद भट्टराई, निर्मला चाम्लिङ राई र डिपी गौतमले अर्को ४ वर्षे कार्यकालका लागि पनि निरन्तरता पाएका छन् ।

यसैगरी, त्रिलोचन चिमरिया, सुजन काफ्ले र ममता मैनाली यसै साधारणसभाबाट नेतृत्वमा पुगेका छन् ।

संथाको लेखा सुपरीवेक्षण समितिमा कमलप्रसाद कट्टेललाई पुनः संयोजकको जिम्मेवारी दिइएको छ भने सदस्यहरुमा सुमन कार्की र लुवराज उप्रेतीले नयाँ जिम्मेवारी पाएका छन् ।

यसअघि उद्घाटन सत्रमा सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पोखरेलले आर्थिक वर्ष २०७४/०७५ मा वित्तीय कारोबारको आंकडा बढेको बताए ।

संस्थाले समीक्षा वर्षमा शेयर पूँजीमा ६ प्रतिशत, निक्षेप संकलनमा १७ प्रतिशत र कर्जा लगानीमा २२ प्रतिशतले बृद्धि गरेको अध्यक्ष पोखरेलले जानकारी गराए ।

आर्थिक वर्ष २०७४/०७५ को असार मसान्तमा संस्थासँग शेयर पूँजी ९० लाख ९५ हजार ९०० रुपैयाँ कायम थियो भने ३ करोड ६३ लाख रुपैयाँ निक्षेप संकलन भएको प्रतिवेदनमा उल्लेख छ । यस्तै कर्जा लगानीमा ४ करोड १५ लाख ९० हजार ९२० रुपैयाँ रहेको जनाइएको छ ।

साधारणसभाले चालू वर्षमा संस्थाको वित्तीय कारोबार बढाउन तथा सामाजिक उत्तरदायित्व वहन गर्न पनि निकै सकारात्मक योजनाहरु पारित गरेको छ ।

सदस्यहरुको चाहना र समयको मागलाई ध्यान दिएर बचत तथा ऋणका नयाँ योजनाहरु पारित गरेको छ भने संस्थामा नियमित कारोबार गर्ने शेयर सदस्यहरुलाई अवलोकन भ्रमणमा लैजाने, उपयुक्त व्यावसायिक प्रस्ताव आएमा संस्थाको तर्फबाट १० लाख रुपैयाँ लगानी गर्ने विषयमा सबैको सहमति प्राप्त भएको छ ।

कनकाई नगरक्षेत्रका दर्जनौं सहकारी संस्थाका प्रतिनिधित्वमा उद्घाटन गरिएको साधारणसभाका अवसरमा २–२ जना उत्कृष्ट बचतकर्ता र कर्जा कारोबारीलाई कदरपत्रसहित सम्मान गरिएको छ ।

कार्यक्रमको सञ्चालन सचिव शिवकुमार कँडेलले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *