राष्ट्रपति चुनावको मौन अवधि आज रातिदेखि सुरु हुँदै
Published:
by .काठमाडौँ । फागुन २५ गतेका लागि निर्धारित राष्ट्रपति निर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि सुरु हुने भएकाले प्रचार प्रसार स्थगन गर्न निर्वाचन आयोगले भनेको छ ।
आयोगले मौन अवधि सुरु भएसँगै राष्ट्रपति निर्वाचनका लागि प्रचारप्रसारमा रोक लगाउने जनाउँदै आज विज्ञप्ती जारी गरेको हो । आज फागुन २२ गते राति १२ बजेदेखि मतदानको दिन फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने आयोगले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।
प्रचारप्रसार निषेधको अवधि सम्बन्धनमा प्रेस विज्ञप्ति जारी गर्दै आयोगले लेखेको छ‚ ‘२२ गते राति १२ बजेदेखि मतदानको दिन फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने व्यहोरा सम्बन्धित राजनीतिक दल‚ उम्मेदवार‚ मतदाता र सम्बद्ध सबैलाई जानकारी गराइन्छ ।’
निर्वाचन स्वच्छ‚ स्वतन्त्र‚ निष्पक्ष‚ विश्वसनीय‚ पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने आयोगले जनाएको छ । आगामी फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।
Comments