Sajhamanch Archive

अन्तर्राष्ट्रिय महिला दिवस र नेपाली महिलाको अवस्था

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, विचार/ब्लग, समाज, by .

पृष्ठभूमिः

DigitAll : Innovation and technology for gender equality भन्ने अन्तर्राष्ट्रिय नारा र “लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने राष्ट्रिय नाराका साथ यो वर्ष ८ मार्चमा ११३औं अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर मनाइँदै छ । सुरुमा राजनीतिक तवरबाट मनाउन सुरु भएको यो दिवस वर्तमान समयमा महिला अधिकार, महिला सशक्तिकरण र लैङ्गिक समानताको बहस र वकालत गर्ने दिन वा महिला हकहितका लागि अन्तर्राष्ट्रिय दिवसका रुपमा पनि लिने गरिन्छ ।

अन्तर्राष्ट्रिय महिला दिवसको विश्व इतिहासलाई हेर्दा सन् १९०८ मा संयुक्त राज्य अमेरिकाको न्यूयोर्क सहरमा एक कपडा पसलमा काम गर्ने महिला मजदुरहरुले समान कामको लागि समान ज्याला लगायतका विषयमा आवाज उठाए । त्यसपश्चात हजारौ महिलाहरुको समूहले काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित र्याली निकालेसँगै यसको विजारोपण भएको पाइन्छ ।

यस दिवसको सुरुवाती श्रेय जर्मनीमा जन्मिएकी संघर्षशील महिला क्लार जेटकिनलाई जान्छ । उनको प्रस्तावलाई समर्थन र सहमति गर्दै सन् १९०९ फेब्रुअरी २८ तारिकका दिन अमेरिकाको समाजवादी पार्टीले राष्ट्रिय महिला दिवस मनाउने घोषणा गर्यो । जेटकिनले शान्ति, समानता र विकासको पक्षमा संघर्ष गर्दै विश्वमा नै पहिलोपटक नौलो इतिहास कायम गरेकी थिइन् । उनकै योगदानबाट अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सौभाग्य प्राप्त भयो ।

सावित्रा दाहाल भट्टराई

त्यस पश्चात सन् १९१० मा १७ देशका १०० महिलाको सहभागितामा कोपनहेगनमा भएको अन्तर्राष्ट्रिय महिला सम्मेलनबाट यसलाई अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउनु पर्ने प्रस्तावलाई सबैले समर्थन गरे । त्यस पश्चात सन् १९११ मा पहिलो पटक अष्ट्रिया, जर्मनी, डेनमार्क र स्वीजरल्याण्डमा यो दिवस मनाइयो । क्रमशः अरुदेशले पनि यो दिवस मनाउन थालेको पाइन्छ ।

अहिले यो दिवस श्रमिक महिलाहरुले आफ्नो अधिकार प्राप्त भएको दिनको रुपमा विश्वभर नै मनाउने गरिन्छ । आज महिला अधिकारका क्षेत्रमा जति पनि उपलब्धी हासिल भएका छन्, यही दिवसको उपजको रुपमा लिने गरिन्छ ।

नेपाली महिला आन्दोलनको इतिहास

नेपालमा कानुनी रूपमा महिला अधिकार प्रयासलाई हेर्दा वि.सं. १९१० को मुलुकी ऐन विभेदकारी भए पनि त्यसलाई बोल्ने पहिलो कानुनका रूपमा लिइन्छ । त्यस्तै १९७३ मा योगमायाको अध्यक्षतामा महिला समिति गठन भयो । त्यसपछि योगमायाले कविता माध्यमबाट, मेलवादेवीले गायनको क्षेत्रबाट, तलजा शर्माले गान्धी आश्रमबाट संलग्न भएर चन्द्रकान्ता जोशी मल्ल र दुर्गादेवीले शिक्षण पेशाको माध्यमबाट महिला जागरणमा मद्दत पुर्याएका थिए ।

चन्द्रकान्ता जोशी मल्ल दूरदर्शी, साहसी, महिला हकहित र विकासको हिमायती थिइन् । महिलाको महाशत्रु अशिक्षा, अन्धविश्वास, असमान अधिकार, आर्थिक परनिर्भरताबाट महिलालाई मुक्त गर्न शिक्षालाई प्राथमिकता दिएर मल्लले वि सं. १९९० सालमा काठमाडौंको मखनटोलमा तात्कालीन राणा शासकहरुलाई महिला शिक्षाको महत्वसमेत बुझाएर कन्या पाठशाला स्थापना गर्न सफल भएको इतिहास छ । चन्द्रकान्ता जोशी मल्ल नेपालकै प्रथम महिला प्रधानाध्यापक र सिलाइ बुनाइ, कटाइको प्रथम गुरुअमा हुन् ।

त्यसैगरी २००३ फागुन २१ गते विराटनगरस्थित ‘मिल्स एरिया’मा भएको प्रथम मजदुर हड्तालमा गिरफतारीमा पर्ने महिलामा दिव्या कोइराला, इन्दिरा आचार्य, योगमाया, नलिनी उपाध्याय, कामिनी गिरी लगायतको नेपाली महिलाको समानता र मुक्तिको लागि गरेको आन्दोलन र संघर्ष उल्लेखनीय छ ।

महिला नेतृहरु महिलाका साझा मुद्दामा सुरुमा एकढिक्का भएका भए पनि वि सं. २००७ सालमा नेपाली कांग्रेस र तत्कालीन दिल्ली सरकारबीच सल्लाहकार सभा राजाबाटै घोषणा गर्ने निर्णय गरे पश्चात नेपाली कांग्रेस र कम्युनिष्ट समर्थक महिलाबीच विचार विचलन आयो । र, वि सं. २००८ फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवको अवसर पारेर अखिल नेपाल महिला संघ स्थापना गरियो । यसको नेतृत्व कामाक्षदेवी बस्नेत, साधना अधिकारी, नानीमैयाँ नकर्मी, साहना प्रधानले गरेका थिए ।

नेपाली महिलाले राष्ट्रियताका लागि नालापानीको युद्धदेखि राणा शासन र पञ्चायती तानाशाही व्यवस्था विरुद्ध होस् वा प्रजातन्त्र प्राप्तिको संघर्ष र राजतन्त्र विरुद्ध गणतन्त्र स्थापनाका लागि गरेको बलिदानी पूर्ण संघर्ष होस्, नेपाली महिलाको भूमिका अग्रणी रहँदै आएको छ । हजारौंको संख्यामा काखमा दूधे बालबालिकासहित महिलाहरु सडकमा उत्रिएका थिए । सो क्रममा साना बालिकादेखि दर्जनौं महिला शहीद भएका थिए । कयौं महिला घाइते तथा अपांगता भए ।

माओवादीको दशवर्षे सशस्त्र द्वन्द्वमा महिलाले आफ्नो अधिकार र स्वतन्त्रताका लागि हतियार समेत उठाए । त्यस क्रममा कयौं महिलाले शहादत प्राप्त गरे भने कयौं घाइते तथा अपांगता भए । यसरी नेपालको इतिहासलाई गौरवपूर्ण बनाउने काममा नेपाली महिलाको निकै ठूलो त्याग, तपस्या र बलिदान रहे पनि नेपालको पितृसत्तात्मक संरचना र पुरुष प्रधान समाजले गर्दा महिलाको कामको सही मूल्याङ्कन हुन सकेको छैन ।

नेपालमा अन्तर्राष्ट्रिय महिला दिवसको सुरुवात

नेपालको सन्दर्भमा कुरा गर्ने हो भने अन्तर्राष्ट्रिय महिला दिवस वि सं. २०१६ सालदेखि मनाउन थालेको पाइन्छ । तर संस्थागत रूपमा भने वि सं. २०३६/२०३७ सालदेखि मनाउन थालिएको पाइन्छ । तत्कालीन समयमा संगठित महिलाले कहिले राणा शासन विरुद्ध, कहिले पञ्चायत शासन विरुद्ध, कहिले राजतन्त्र विरुद्धमा दबाब दिने र महिला अधिकार स्थापित गराउने आन्दोलनलाई निरन्तरता दिने काम अहिले कुनै न कुनै रूपमा भइरहेको छ ।

नेपालमा महिलाको अवस्था

नेपालमा वि सं. २०४६ सालमा भएको राजनीतिक परिवर्तन र वि सं. २०६२/०६३ को जनआन्दोलन पश्चात विभिन्न जात जाति र समुदायमा आएको जागरण, आर्थिक, सामाजिक र सांस्कृति रुपान्तरणले विगतको तुलनामा महिलाको हैसियत र अवस्थामा सुधार आएको छ । संविधानले राज्यको सबै तह र संरचनामा एक तिहाई महिलाको सहभागितालाई सुनिश्चित गरेपश्चात राजनीतिक क्षेत्रमा महिलाको उपस्थिति उल्लेख्य मात्रामा बढेको छ ।

यसको अतिरिक्त राज्यले अवलम्बन गरेको सकारात्मक विभेदको नीति अनुरुप निजामती सेवा, सुरक्षा निकाय, स्वास्थ्य, शिक्षा, सरकारी सञ्चार माध्यम, न्याय प्रशासन लगायतका सार्वजनिक क्षेत्रमा महिला सहभागिता उल्लेख्य मात्रामा बृद्धि भएता पनि अझै पनि प्राविधिक क्षेत्रमा र उच्च तहमा भने महिलाको उपस्थिति र सहभागिता नगन्य मात्रामा रहेको छ ।

नेपाल कानुन व्यवसायी परिषद्बाट २०७८ कार्तिकसम्म वरिष्ठ अधिवक्ताको प्रमाणपत्र लिएका ४४८ जनामध्ये २८ जना अर्थात ६ दशमलव २५ प्रतिशतमात्र महिला रहेको राष्ट्रिय महिला आयोगको प्रतिवेदन, २०७८ मा उल्लेख गरिएको छ । यसैगरी उक्त प्रतिवेदनमा उल्लेख भएअनुसार स्वास्थ्य क्षेत्रमा पनि महिला डाक्टरको उपस्थिति पुरुषको तुलनामा निक्कै कम रहेका छ । नेपाल मेडिकल काउन्सिलमा २०७८ पुष मसान्तसम्म दर्ता भएका ८ हजार ८६२ विशेषज्ञ डाक्टरहरुमध्ये २ हजार ५४७ जना अर्थात २८ दशमलव ७४ प्रतिशत महिला विशेषज्ञ डाक्टरहरु रहेको उल्लेख छ । यसरी नै हरेक प्राविधिक क्षेत्रमा महिलाको उपस्थिति पुरुषको तुलनामा अत्यन्तै न्यून र कम रहेका तथ्याङ्कले देखाउँछ ।

महिलाहरुलाई समय सुहाउँदो प्राविधिक क्षेत्रको ज्ञान र सीप उनीहरुलाई आर्थिक अवसरमा पहुँच बढाउन, महत्वपूर्ण निर्णयहरुमा भाग लिन र विभिन्न सञ्जालहरुमा सहभागिता र उपस्थितिको लागि र महिलाको समग्र क्षेत्रमा गुणात्मक र रचनात्मक उपस्थिति र सहभागिताको लागि अपरिहार्य र अनिवार्य आवश्यकता हो । यही कुरालाई मध्यनर गर्दै यसवर्ष संयुक्त राष्ट्रसंघले ८ मार्चमा विश्वभर मनाइने अन्तर्राष्ट्रिय महिला दिवसको नारामा नै उल्लेख गरेर विश्वभर प्राविधिक क्षेत्रमा महिलाको पहुँच बढाउन विश्व समुदायको ध्यान केन्द्रित गरेको छ । महिलाहरुमा प्राविधि क्षेत्रको ज्ञानको अभाव कै कारणले उनीहरु हरेक क्षेत्रमा पछि परेका हुन् भन्ने विश्व समुदायको साझा बुझाई रहेको छ ।

सायद यही कुरालाई ध्यान दिएर नेपाल सरकारले पनि यसवर्ष “लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने राष्ट्रिय नाराका साथ ११३औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेको छ । आधाभन्दा बढी जनसंख्या भएर पनि विविध कारणले पछि परेका महिलाहरू प्रविधिमा अभ्यस्त हुनसके समाजलाई सकारात्मक प्रभाव पार्ने विश्वास गर्दै सरकारले यसतर्फ विशेष कार्यक्रमहरु समेत गर्दै आएको छ । महिलालाई अगाडि बढाउन, प्राविधिक क्षेत्रको नेतृत्व लिन र उद्यमशीलता र आर्थिक विकासमा सहभागी हुन प्राविधिक ज्ञान आवश्यक रहेका र डिजिटल साक्षरता महत्वपूर्ण हुने प्राविधिक विज्ञहरुको भनाई छ ।

नेपाल सरकारले दिगो विकास लक्ष्यको लक्ष्य पाँचमा उल्लेखित लैङ्गिक समानता हासिल गर्न नेपालमा सन् २०३० सम्ममा सार्वजनिक क्षेत्रमा महिलाको सहभागिता ३३ प्रतिशत पुर्याउने, लैङ्गिक असमानताको हालको सूचकलाई ० दशमलव ४९ बाट घटाएर ० दशमलव ०५ मा झार्ने योजना बनाइएको छ । लैङ्गिक शसक्तिकरण मापनलाई ० दशमलव ५७ बाट बढाएर ० दशमलव ६९ पुर्याउने लक्ष्यसहितको साझा प्रतिवद्धतासमेत व्यक्त गरेको छ । यसै परिप्रेक्ष्यमा लैङ्गिक समानताको लागि प्राविधिक सीप आवश्यक रहेकोले यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने र राज्यका हरेक निकायले कानुनी व्यवस्थाको अक्षरशः पालन गर्नुपर्ने आवश्यकता देखिन्छ ।

अन्त्यमा, विश्वभरका महिलाहरुले आर्थिक, सामाजिक र राजनीतिक समानताका लागि आवाज उठाएको यो दिन महिलाहरुको विशेष पर्व हो । यो दिनले समाजमा महिला माथि हुने गरेका आर्थिक, सामाजिक र संस्कृति लगायतका विभेद हटाउन, महिला र पुरुष दुवैको न्यायसंगत समान सहभागिता, महिलाको हक, अधिकार र सम्मानका लागि र नेपालको संविधानमा व्यवस्था भए बमोजिमको अधिकार प्रयोग गरी महिलाको सर्वाङ्गिण विकास गर्न मद्दत मिल्नेछ । सबै तह र निकायमा महिलाको सम्मानजनक र अर्थपूर्ण प्रतिनिधित्व गराउन पूर्वाधार निर्माण गर्दै जान यस दिवसले सहयोग पुर्याओस्, महिला दिवसको सबैमा शुभकामना ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *