Sajhamanch Archive

बिर्तामोडका सहकारी कर्मचारीलाई लेखा व्यवस्थापन तथा कर सम्बन्धी तालिम

Published: in लोकप्रिय, शिक्षा, सहकारी, स्थानीय तह by .

झापा । बिर्तामोडका सहकारीहरुमा कार्यरत लेखा शाखाका कर्मचारीहरुलाई आजदेखि लेखा व्यवस्थापन तथा कर सम्बन्धी तालिम सुरु भएको छ ।

बिर्तामोड नगरपालिकाको आयोजनामा आजदेखि तालिम सुरु भएको हो । नगरप्रमुख पवित्रा महतारा प्रसाईले व्यानर पढेर तालिमको उद्घाटन गरेकी हुन् ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले जनता र सहकारी बीचको सम्बन्ध पारदर्शी बनाउने उद्देश्यका साथ यो तालिम आयोजना गरिएको बताइन् । सहकारीले राज्यलाई सहयोग गरेको भन्दै नगरप्रमुखले सहकारीहरुलाई नियमन गर्दै बलियो बनाएर लैजानु पर्ने धारणा राखेकी छन् ।

तालिममा अहिले ३० जना सहभागी छन् । यसपछि फेरि ३० जनालाई तालिमको व्यवस्थापन गरिने नगरपालिकाका सामाजिक विकास तथा सहकारी शाखा अधिकृत डिल्ली दाहालले जानकारी दिएका छन् ।

तालिममा कर व्यवस्थापन, खाता पोष्टिङ्ग, नाफा नोक्सान, आयव्यय, ट्रायल व्यालेन्स, ट्रेडिङ्ग अकाउण्ट, नाफा बाँडफाड, वासलत लगायतका विषयमा प्रशिक्षण गराइने अधिकृत दाहालले जानकारी दिए ।

सामाजिक विकास समिति संयोजक यमुना आचार्यको अध्यक्षतामा आयोजित तालिम उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य तिला गौतम, निर्मला सुनुवार, बिर्तामोड नगरअस्पताल संचालन तथा व्यवस्थापन समिति सदस्य अर्जुन पाठकको सहभागिता थियो ।

बिर्तामोड नगरपालिकाले यसअघि सहकारी तथा गरिबी निवारण सूचना प्रणाली (कोपोमिस) सम्बन्धी तालिम ६० जनालाई तालिम प्रदान गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *