Sajhamanch Archive

सहकारीको नाममा ठगी गरेको आरोपमा तीनजना प्रहरी नियन्त्रणमा

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, सहकारी by .

बिराटनगर । सहकारी संस्थाका शेयर सदस्यहरूको ठूलो राशिको रकम ठगी गरेको आरोपमा विराटनगरको तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका तीनजना जिम्मेवारहरु पक्राउ परेका छन् । सो संस्थाका क्षेत्रीय प्रबन्धकसहित दुईजना जिम्मेवार सञ्चालकहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा मोरङको उर्लाबारी नगरपालिका वडा नं. ६ घर भई संस्थाको उपाध्यक्षको जिम्मेवारीमा रहेकी अनिता गौतम, झापाको भद्रपुर नगरपालिका घर भई विराटनगर महानगरपालिका–३ बस्ने संस्थाको सचिवको जिम्मेवारीमा रहेकी सविना न्यौपाने र विराटनगर महानगरपालिका–२ का संस्थाका क्षेत्रीय प्रबन्धकको रुपमा कार्यरत मन्दिप खवास रहेका छन् ।

नेपालभर कार्यक्षेत्र रहने गरी २०५२ सालमा स्थापना भएको उक्त संस्थाको मुख्य कार्यालय विराटनगर–२ मा रहेको छ । यही फागुन १ गतेदेखि सेयर सदस्यहरूलाई कुनै जानकारी नदिई संस्थाको कार्यालय बन्द गरी ठगी गरेको भनी सेयर सदस्यहरूले प्रहरीमा दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको हो ।

उक्त संस्थाले बाल बचत, ज्येष्ठ नागरिक बचत, भविष्य सुनिश्चित बचत, सुपर पेन्सन बचत, अवधि बचत, कर्मचारी चल्ती बचत, विशेष बचत, साधारण बचत लगायत खाताहरूमा बचत सञ्चालन गरी निक्षेप संकलन गर्ने गरेको थियो । संस्थाको शेयर सदस्य हुँदा १५ प्रतिशतभन्दा बढी बोनस लगायतका आकर्षक आर्थिक सुविधा पाउने आश्वासन र प्रलोभनमा पारी बचत गर्न लगाएको र आफ्नो तथा बालबच्चासहित परिवारका अन्य सदस्यहरूको सुरक्षित भविष्यको आशामा बचतकर्ताहरूले ठूलो रकम बचत गर्दै आएकोमा फागुन १ गतेदेखि कार्यालय बन्द गरी सञ्चालक समितिका सबै पदाधिकारीहरू सम्पर्क विहीन भएका थिए ।

सञ्चालकहरू नै फरार भए पश्चात् आफूहरू ठगीमा परेको थाहा पाई फागुन २८ गते केही बचत कर्ताहरूले १२ करोड ९ लाख ४ हजार ४८७ रुपैयाँ बराबरको रकम ठगी भएको भनी संस्थामा कार्यरत ८ जनाको विरुद्धमा जाहेरी दिएको र सोही जाहेरीको आधारमा ३ जनालाई पक्राउ गरिएको तथा अन्य ५ जनाको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *