रसायनिक मलको मुल्यवृद्धि खारेज गर्न किसान महासंघ झापाको माग
Published:
by .झापा । अखिल नेपाल किसान महासंघ झापाले मलमा गरिएको मूल्य वृद्धिको विरोध गर्दै बढेको मूल्य तत्काल खारेज हुनुपर्ने माग गरेको छ ।
सत्ताका लागि राजनीतिक गठबन्धन फेरिरहने बानीपरेका पुष्पकमल दाहालले जनताले खाने अनाज उत्पादन गर्ने नेपाली किसानको ढाड सेक्नेगरी गरेको मूल्यवृद्धिको विरोध गरेको हो । प्रचण्ड नेतृत्वको सरकारले सोमबार मलमा दिइएको अनुदान घटाएर मूल्य समेत वृद्धि गरेको थियो ।
किसान महासंघ झापाले मूल्यवृद्धिको घोर विरोध गर्दै भारतबाट आयात भइरहेको विषादियुक्त र गुणस्तरहीन मलको आयात रोक्नुपर्ने लगायतको माग पनि गरेको छ । नेपाल किसान महासंघ झापाका अध्यक्ष विमल निरौलाले मंगलबार जारी गरेको विज्ञप्तिमा किसानहरुले प्रयोग गर्दै आएको मलको प्रभावकारी अनुगमन समेत गर्न र सरकारको नीतिका कारण किसानहरु निराश हुँदै गएका जनताप्रति उत्तरदायी बन्न भनिएको छ ।
बाली लगाउने बेलासम्म मलको अभाव व्यहोर्दै काम गर्नु परेको अध्यक्ष निरौलाको भनाई छ । उनले उन्नत विउको अभावका कारण बालीमा आशाजनक फलसमेत प्राप्त नभएको बताए । अध्यक्ष निरौलाले मलको कालाबजारी भइरहेको आरोपसमेत लगाएका छन् ।
किसानले उत्पादन गर्ने कृषि वस्तुहरुले सरकारले तोकेको समर्थन मूल्य समेत नपाइरहेको भन्दै उनले भारतबाट आयात भइरहेको कृषि वस्तुका कारण नेपाली बजार अस्तव्यस्त भएको बताएका छन् । किसान बनेर जीवन निर्वाह गर्न कठिनाई भइरहेको भन्दै किसान महासंघले किसानको हितमा सरकारले नीति निर्माण गर्नुपर्ने माग राखेको छ ।
Comments