Sajhamanch Archive

बिर्तामोडमा कक्षा ८ का विद्यार्थीको नगरस्तरीय परीक्षा गराइँदै

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, शिक्षा, स्थानीय तह by .

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले यो वर्षदेखि आधारभूत तह कक्षा ८ को परीक्षा नगरस्तरीय बनाएको छ । कक्षा ८ को नगरस्तरीय परीक्षा यही चैत ८ गतेदेखि सञ्चालन गर्ने यारी भइरहेको नगर शिक्षा शाखाले जनाएको छ ।

परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्षहरुको अभिमुखिकरण बिहीबार सम्पन्न गरिएको छ । बिहीबार नगरपालिकाको हलमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

बिर्तामोड नगरपालिका भित्र रहेका सामुदायिक र संस्थागत विद्यालयहरुमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुको परीक्षाका लागि १० वटा विद्यालयलाई केन्द्र तोकिएको छ ।

तोकिएका केन्द्राध्यक्ष र केन्द्रहरुमा शेरबहादुर श्रेष्ठ मोहनमाया मावि बिर्तामोड २, जीवन आचार्य बाल्मिकी एजुकेशन एकाडेमी बिर्तामोड १, यदुनाथ अधिकारी वीर अमरसिंह मावि बिर्तामोड २, केशव प्रसाई महेन्द्ररत्न मावि बिर्तामोड ३, विशाल क्षेत्री लिटल फ्लावर्स ईग्लिस स्कूल बिर्तामोड ४, देवेन्द्र हुमागाई न्यूटन्स एजुकेशन एकाडेमी बिर्तामोड ५, अम्विका श्रेष्ठ देवी मावि बिर्तामोड ५, पेम्बा लामा कनकाई मावि बिर्तामोड ५, लक्ष्मण शिवाकोटी दुर्गा मावि बिर्तामोड ९ र उदय कटुवाल लालीगुराँस ईग्लिस बोर्डिङ स्कूल बिर्तामोड ८ रहेका छन् ।

अभिमुखिकरण कार्यक्रममा बोल्दै नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले शान्त, व्यवस्थित र मर्यादित ढंगले परीक्षा सञ्चालन गर्न केन्द्राध्यक्षहरुलाई निर्देशन गरे । उनले लाहछाप लगाइएका उत्तरपुस्तिकाहरु सिसी क्यामेराको निगरानीमा राख्नु पर्ने केन्द्राध्यक्षहरुलाई सुझाव पनि दिएका छन् ।

बिर्तामोड नगरपालिकामा पालिकास्तरको यो परीक्षा पहिलोपटक सञ्चालन गर्न लागिएको हो । सो परीक्षामा १ हजार २७४ छात्रा र १ हजार ३५२ छात्र गरी कूल २ हजार ६२६ जना विद्यार्थी सहभागी हुने बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख उपससचिव तिलचन भण्डारीले जानकारी दिएका छन् । परीक्षा सकिएपछि उत्तरपुस्तिका परीक्षण गर्ने कार्य नगरपालिकामा केन्द्रिकृत गरी सञ्चालन हुने उनले जनाएका छन् ।

परीक्षालाई व्यवस्थित र मर्यादितरुपमा सञ्चालन गर्नका लागि दैनिक परीक्षा समिति र नगरपालिकाबाट अनुगमन गरिने शिक्षा शाखा अधिकृत दिनेशप्रसाद आचार्यको भनाई छ । विद्यार्थी मूल्याङ्कन, परीक्षा व्यवस्थापन तथा नतिजा प्रकाशन अनिवार्यरुपमा लेटर ग्रेडिङ निर्देशिका २०७८ (संशोधनसहित)को प्रावधान अनुसार हुने बिर्तामोड नगरपालिकाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *