Sajhamanch Archive

कमलमा गाउँपालिका प्रशासनिक भवन र १५ शैय्याको अस्पताल बनाइने

Published: in मुख्य समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by .

कमल । झापाको कमल गाउँपालिकामा पालिका प्रशासनिक भवन र १५ शैय्याको अस्पताल बनाइने भएको छ ।

लामो समयदेखि विवादका कारण निर्माण हुन नसकेको प्रशासनिक भवन र १५ बेडको अस्पताल अब निर्माण गरिने भएको हो । गाउँपालिकाको अगुवाईमा अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा बिहीबार बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो ।

वडा नम्बर २ मा रहेको स्वस्थ्य चौकीसँगै जोडिएको वा सोको पाँचसय मिटर आसपासमा जग्गा व्यवस्थापन गरी १५ बेडको अस्पताल निर्माण गर्ने निर्णय गरेको पालिकाले जनाएको छ ।

बैठकले अस्पताल निर्माणका लागि आवश्यक पर्ने जग्गाको व्यवस्थापन गर्न वडा नम्बर २ का वडाध्यक्ष अशोक लिम्बूको संयोजकत्वमा वडाध्यक्षहरु केदार कटुवाल, अग्निप्रसाद कोइराला, चन्द्रप्रसाद भट्टराई र वडासचिव देवीप्रसाद फुयाँलको रहेको समितिसमेत गठन गरिएको पालिका अध्यक्ष राईले जानकारी दिएका छन् ।

अस्पताल निर्माणका लागि अघिल्लो स्थानीय सरकारले ठेक्का सम्झौता गरी तत्कालिन प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीको हातबाट शिल्यान्यास गराइसकेको थियो । तर स्थानीयबासीको अवरोध र विवादका पालिकाले निर्माण कार्य अघि बढाउन सकेको थिएन ।

ठेक्का लागेको लामो समयसम्म पनि आन्तरिक विवादका कारण काम अगाडि नबढे पछि निर्माण कम्पनीले ठेक्का रद्ध गर्न गाउँपालिकामा निवेदनसमेत दिएको थियो । निर्माण कम्पनीले दिएको निवेदन अनुसार सोही कम्पनीलाई पुनः सम्झौता गर्ने वा सम्झौता रद्ध गरी पुनः नयाँ प्रक्रियामा जाने भन्ने जिम्मासमेत बैठकले गाउँपालिकालाई अधिकार दिएको छ ।

त्यस्तै गाउँपालिकाको प्रशासनिक भवन अन्यन्त्र सार्ने वा सोही ठाउँमा निर्माण गर्ने भन्ने विषयमा अघिल्लो स्थानीय सरकारले निर्णय गर्न नसकेको विषयलाई समेत सर्वदलीय बैठकले टुङ्गो लगाएको छ ।

बैठकले हाल सञ्चालनमा रहेको गाउँपालिकाको कार्यालय भवनसँगै जोडिएको खाली जमिनमा सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण गर्ने गरी पालिकालाई सुझाब दिएको छ ।

‘सर्वदलीय बैठकबाट निर्णय भएकाले हामीलाई काम गर्न सहज हुनेछ, अब कार्यपालिकाको बैठकबाट निर्णय गरी प्रशासनिक भवन निर्माणको कार्य पनि छिट्टै अगाडि बढाइने छ’ अध्यक्ष राईले जानकारी दिएका छन् ।

सर्वदलीय बैठकमा गाउँपालिकामा क्रियाशील राजनीतिक दलबाट पालिका नेतृत्व र प्रतिनिधिहरुको सहभागिता रहेको उपाध्यक्ष प्रमिला न्यौपानेले जानकारी दिइन् । बैठकमा सातवटै वडाका वडाध्यक्षहरु र प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य सहभागी थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *