सिद्धिविनायक ज्ञान महायज्ञको आम्दानी खर्चको विवरण सार्वजनिक
Published:
by .बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ मा फागुन २० देखि २७ गतेसम्म आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आम्दानी खर्चको विवरण सार्वजनिक गरिएको छ ।
सिद्धिविनायक भजन किर्तन मण्डलीले एक कार्यक्रमको आयोजना गरी शनिबार आय–व्यव विवरण सार्वजनिक गरेको हो । बिर्तामोड नगरमा नै पहिलो कर्मयोग भवन र ज्येष्ठ नागरिक चौतारीसहितको बहुउद्देश्यीय सामुदायिक भवनका लागि जग्गा खरिद गर्ने उद्देश्यले अनुष्ठान आयोजना गरिएको थियो ।
अनुष्ठानमा एक हजार पाँच सय भक्तजनबाट नगदी रसिद लिएर ६९ लाख ५० लाख ७५७ रुपैयाँ जम्मा भएको आर्थिक समिति संयोजक तथा अनुष्ठान आयोजक समितिका कोषाध्यक्ष यामप्रसाद न्यौपानेले जानकारी दिए ।
त्यस्तै जिन्सी बस्तुहरु चामल, चिनी र आँटा बिक्रीबाट २८ हजार ४०० रुपैँया, दान पेटिकामा २ लाख ८० हजार ५९३ रुपैयाँ, मन्दिरको भेटीवापत ७ हजार ३६२ रुपैयाँ नगद आम्दानी भएको न्यौपानेले जानकारी दिए । अनुष्ठान समितिलाई प्राप्त भएको चेक साट्न बाँकी २ लाख १४ हजार १३० रुपैँया र उठ्न बाँकी ११ लाख ८८ हजार ४६३ रुपैँया रहेको उनले बताए ।
फागुन २० देखि २७ गतेसम्म आयोजित अनुष्ठानमा विभिन्न शीर्षकमा २४ लाख ४१ हजार ८९३ रुपैयाँ र फागुन ९ देखि १२ गतेसम्म आयोजित मन्दिरको प्राण प्रतिष्ठामा ३ लाख २१ हजार ८२९ रुपैयाँ खर्च भएको आर्थिक समितिका सदस्य राम सिटौलाले जानकारी दिए ।
समितिको नाममा रहेको नबिल बैंकको बिर्तामोडस्थित खातामा ३६ लाख ३४ हजार २४६ रुपैयाँ बचत तथा नगद ४९ हजार २६४ रुपैयाँ मौज्दात रहेको सिटौलाले जानकारी दिएका छन् ।
शिक्षासेवी जयनारायण ढुंगानाले कर्मयोग भवनका लागि २ धुर जमिन खरिदका लागि ७ लाख २२ हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । परोपकार वृद्धाश्रममा आश्रित चन्द्रबहादुर श्रेष्ठले मन्दिर निर्माण र जग्गा खरिदका लागि एकमुष्ठ ४ लाख रुपैयाँ उपलब्ध गराएको जनाइएको छ ।
आयोजक समिति संयोजक भिमा शिवाकोटीले धेरै मनकारी दाताहरुले जग्गा खरिद तथा भवन निर्माणको समयमा आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको बताएकी छन् । अनुष्ठान पश्चात पनि धेरै मानिसले सदस्यताका लागि रकमसमेत जम्मा गरिरहेको उनको भनाई छ ।
सिद्धिविनायक भजन किर्तन मण्डलीलाई जग्गादाता गुरुप्रसाद ओझाले निःशुल्क उपलब्ध गराएको ११ धुर जग्गामा गणेश पाञ्चायन मन्दिर निर्माण भई सञ्चालनमा आएको छ । समितिले कर्मयोग भवन र ज्येष्ठ नागरिक चौतारीसहितको बहुउद्देश्यीय सामुदायिक भवन निर्माणका लागि यस अघि नै ११ धुर जग्गा बैना गरिसकेको र थप जग्गा खरिद गरिने किर्तन मण्डलीका अध्यक्ष गीतादेवी भण्डारी पोखरेलले जानकारी दिइन् । कार्यक्रममा अनुष्ठानलाई सुसम्पन्न गराउन अहोरात्र खट्ने स्वयम् सेवकहरुलाई कदर पत्रसमेत वितरण गरिएको थियो ।
अनुष्ठानलाई भव्य र सभ्य रुपमा सम्पन्न गराउन जिन्सी सौजन्य तथा अन्य सहयोग गर्ने विभिन्न संस्था, विभिन्न समिति तथा उपसमितिका सदस्य, स्वयम्सेवक, चन्दादाता तथा भक्तजन लगायत सम्बद्ध सबैलाई अनुष्ठान आयोजक समितिका सचिव पुष्प खड्काले धन्यवाद ज्ञापन गरेका थिए । सचिवालय सदस्य तथा प्रचार संयोजक केशव भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए ।
Comments