कांग्रेसमा को को छन् मन्त्रीका आकांक्षी ?
Published:
by .काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद् विस्तारमा जुटेसँगै सत्ता साझेदार दल कांग्रेसभित्र मन्त्रीका आकांक्षीहरूले दौडधूप बढाएका छन्।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद् विस्तारको तयारीमा जुटेका छन्। मन्त्रिपरिषद् विस्तारको तयारी भएसँगै नेपाली कांग्रेसभित्र मन्त्रीका आकांक्षीहरूको दौडधूप बढेको हो।
गत फागुन १२ गते नेकपा (माओवादी)का अध्यक्ष समेत रहेका दाहालले आफ्नो पार्टीमा राष्ट्रपतिको निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई सघाउने निर्णय गराएका थिए । उक्त निर्णयसँगै पुस १० गते बनेको एमाले नेतृत्वको गठबन्धन भत्किएर कांग्रेस–माओवादीको नयाँ गठबन्धन निर्माण भएको थियो ।
सत्ता साझेदार दल एमाले सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री दाहाल मन्त्रिपरिषद् विस्तारको तयारीमा जुटेका हुन् । प्रधानमन्त्री दाहालले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।
मन्त्री छान्न कांग्रेसले बनायो मापदण्ड
सरकारमा सहभागिताका लागि कांग्रेसले मन्त्री चयन गर्न मापदण्ड बनाएको छ। आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्री चयन गर्ने मापदण्ड बनाएको हो ।
योग्यता, योगदान, समावेशिता र प्रादेशिक सन्तुलनलाई मध्यनजर गरेर मन्त्री पठाउने निर्णय भएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताएका छन् ।
सरकारमा सहभागी दलले कुन मन्त्रालय पाउने भागबन्डा नभए पनि कांग्रेसबाट सरकारमा सहभागी हुने नेताले अर्थ मन्त्रालय सहित पार्टीको नेतृत्व गर्ने तयारी छ । यद्यपि‚ कसको नेतृत्वमा सरकारमा सहभागी हुने भन्ने विषय कांग्रेसभित्र पेचिलो बन्दै गएको छ ।
पार्टीबाट सरकारको नेतृत्व गर्नेमा उपसभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला र प्रकाशमान सिंहको नाम चर्चामा छ। प्रवक्ता प्रकाशशरण महत, पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेता उदयशमशेर राणाले समेत अर्थमन्त्रीका लागि ‘लबिइङ’ गर्दै आएका छन्।
चुनावी गठबन्धन ब्युँताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले उपसभापति खड्काको सम्भावना बलियो रहेको कांग्रेसका एक पदाधिकारी बताउँछन् । ती नेताले भने “पार्टी उपसभापति पनि भएको र एमाले नेतृत्वको गठबन्धन फुटाएर पुरानो गठबन्धन ब्युँताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका कारण पनि उहाँको सम्भावना बढी छ।” तर‚ यस विषयमा खड्काले भने मुख खोलिसकेका छैनन् ।
कांग्रेस महाधिवेशनमा देउवालाई सघाएका नेता शेखर कोइरालाले पनि सरकारको नेतृत्व गर्न सक्ने सम्भावना छ। उपसभापति खड्का सरकारमा नगएको खण्डमा कोइराला पार्टीको नेतृत्व गरेर सरकारमा सहभागी हुन सक्छन्। कोइराला सरकारमा गए परराष्ट्र वा अर्थमध्ये कुनै एक मन्त्रालय सम्हाल्ने कांग्रेसका ती नेताले बताए।
अर्थमन्त्रीमा महामन्त्री गगन थापाको पनि चर्चा छ। तर‚ उनले सार्वजनिक रूपमै मन्त्री नबन्ने बताएका छन्। उनले एक सार्वजनिक कार्यक्रममा भनेका थिए, “पाँच वर्षका लागि पाएको जिम्मेवारी सांसदको हो। न म अहिले मन्त्री बन्ने हो न म अहिले बन्न मिल्छ।” तर‚ मुलुकको अर्थतन्त्र सङ्कटग्रस्त बनेको अवस्थामा ‘बोल्ड’ निर्णय लिन सक्ने अर्थमन्त्रीको खोजी भइरहेका वेला थापा उपयुक्त पात्र भएको भनेर एक पक्षले ‘लबिइङ’ समेत गर्दै आएको छ।
यी हुन् मन्त्री बन्ने दौडमा रहेका नेता
गठबन्धनको प्रमुख दल कांग्रेसले बढीमा नौ मन्त्रालय पाउने देखिएको छ। सरकारमा जान पार्टीका शीर्ष नेताहरूले नै ‘लबिइङ’ गर्दै आएका छन्।
नेता शशांक कोइराला पनि मन्त्री बन्ने ‘लबिइङ’ मा छन् । २०६४ सालदेखि निरन्तर चुनाव जित्दै आएका उनी यसअघि मन्त्री बनेका छैनन् । पार्टीको १४औं महाधिवेशनदेखि शेरबहादुर देउवालाई साथ दिंदै आएकाले उनको सम्भावना बढी छ। उनले सार्वजनिक रूपमै आफू मन्त्री बन्न इच्छुक रहेको बताएका छन्।
कोशी प्रदेशबाट शेखरसँगै तेह्रथुमबाट निर्वाचित सीता गुरुङको पनि बलियो सम्भावना छ। देउवा निकट गुरुङ कांग्रेसबाट प्रत्यक्ष निर्वाचित एकमात्र महिला सांसद हुन्। कोशी प्रदेशबाटै महामन्त्री विश्वप्रकाश शर्मा पनि मन्त्रीका लागि बलियो दाबेदार हुन्। त्यस्तै‚ मधेश प्रदेशबाट रमेश रिजाल र समानुपातिक सांसद विमलेन्द्र निधि पनि मन्त्रीका आकांक्षी हुन्।
बागमती प्रदेशबाट मन्त्री बन्ने आकांक्षी नेताको संख्या धेरै छ। १४औं महाधिवेशनबाट देउवाको निकट भएका कृष्णप्रसाद सिटौला समूहका प्रदीप पौडेल पनि प्रमुख दाबेदार हुन्। त्यस्तै‚ पछिल्लो समय देउवालाई साथ दिंदै आएका प्रकाशमान सिंह, उदयशमशेर राणा पनि बलियो दाबेदार हुन्। सिन्धुपाल्चोकका मोहन बस्नेत पनि मन्त्री बन्ने ‘लबिइङ’ मा छन्।
गण्डकी प्रदेशबाट उपसभापति धनराज गुरुङ मन्त्रीका बलियो दाबेदार हुन्। यस्तै‚ देउवा निकट शंकर भण्डारी र राजेन्द्र बजगाईंले पनि दाबी गर्दै आएका छन्। लुम्बिनी प्रदेशबाट देउवा निकटका सहमहामन्त्री किशोरसिंह राठोर, शेखर–गगन समूहका सञ्जय गौतम, शशांक निकटका दीपक गिरी मन्त्रीका आकांक्षी हुन्।
कर्णाली प्रदेशबाट उपसभापति पूर्णबहादुर खड्का र सुदूरपश्चिमबाट वीरबहादुर बलायर, सहमहामन्त्री बद्री पाण्डे र एनपी साउद मन्त्री बन्ने ‘लबिइङ’ मा छन्।
हिमालखबरबाट
Comments