झापा २ का सांसदहरुको संयुक्त सम्पर्क कार्यालय उद्घाटन (भिडियोसहित)
Published: (Updated: )
by .झापा । झापा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य तथा सभामुख देवराज घिमिरेले आज बिर्तामोडमा सांसद सम्पर्क कार्यालय उद्घाटन गरेका छन् ।
‘आफ्नो निर्वाचन क्षेत्रका जनताहरु मलाई भेट्न काठमाडौंसम्म जान नपरोस् र यहाँको विकास निर्माणका लागि आवश्यक राय सुझाव एवम् कार्यक्रमहरु कार्यान्वयन गर्न सहज होस् भन्ने उद्देश्यले यो सम्पर्क कार्यालय खोलिएको हो’ कार्यालय उद्घाटनको समयमा भेला भएका जनताहरुलाई उनले सुनाए ।
उक्त कार्यालयमा झापा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य देवराज घिमिरे, झापा निर्वाचन क्षेत्र नं. २ (क) बाट निर्वाचित प्रदेश सभाका सदस्य एकराज कार्की, झापा निर्वाचन क्षेत्र नं. २ (ख) बाट निर्वाचित प्रदेश सभाका सदस्य चिन्तन पाठक, समानुपातिकबाट प्रतिनिधि सभाका सदस्य हर्कमाया विश्वकर्मा र समानुपातिकबाट प्रदेश सभाका सदस्य कमला थापा मगरको संयुक्त सम्पर्कस्थल बन्ने जनाइएको छ ।
सम्पर्क कार्यालयको उद्घाटन गर्दै सभामुख घिमिरेले मुलुकका राजनीतिक शक्तिहरुले अस्थिरतालाई प्रश्रय दिन नहुने सुझाव दिए । ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई महिनामा दोस्रो पटक विश्वासको मत लिनुपर्ने अवस्था उत्पन्न हुनु राजनीतिक अस्थिरताको सूचक हो’ सभामुख घिमिरेले भने, ‘दलीय मेलमिलाप बिना स्थिरता नहुने र विकास निर्माण पनि पछि पर्ने भएकाले राजनीतिक दलहरुबीच अन्तरविरोधहरु अन्त्य गरेर जनताको काममा लाग्न ढिला गर्न हुँदैन ।’
उक्त सम्पर्क कार्यालय समुद्घाटनका अवसरमा निर्वाचन क्षेत्र नं. २ (क) बाट निर्वाचित प्रदेश सभाका सदस्य एकराज कार्कीले सांसदहरुले कानून बनाउने काम र विकास निर्माणका कामहरु दुवै एकसाथ गर्नुपर्ने भएकाले सम्पर्क कार्यालयको आवश्यकता महसुस गरी स्थापना गरिएको बताए ।
जनताका कामहरु गर्न मतदातासँग सधैंभर सम्पर्कमा नै रहनुपर्ने भएकाले हामीहरुसँग भेट भए पनि नभए पनि यो कार्यालयमा आएर आफ्ना समस्याहरु, प्रशासनिक झै झमेलाहरु पर्दा यहाँ सम्पर्क गर्न सकिने सांसद कार्कीको भनाई छ ।
भिडियो पनि ….
Comments