मुलुककै नमूना सहकारी आवास आज शेयर सदस्यहरुलाई हस्तान्तरण
Published:
by .दमक । यहाँस्थित मेची बहुउद्देश्यीय सहकारीले आफ्ना शेयर सदस्य परिवारका लागि दमक ४ मा निर्माण गरेको ५७ वटा घर आज चैत १० गते हस्तान्तरण गरिएको छ ।
पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज शुक्रबार नवनिर्मित सहकारी आवास सम्बन्धित सदस्यहरुलाई हस्तान्तरणको सुरुवात गरेका हुन् । आवासहरु उद्घाटन गरिएसँगै संस्थाले शेयर सदस्यहरूलाई आवास हस्तान्तरण सुरु गरेको हो ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि, नेकपा एमाले अध्यक्षका ओलीले वास्तविक रुपमा नै सहकारिताको अभ्यास गरेर खोलिएका सहकारीहरूको पहिचान गरेर मात्र आर्थिक कारोबार गर्न सर्वसाधारणलाई सुझाव दिए । मेची आवासको प्रशंसा गर्दै सहकारीको अर्थ र महत्व यसले झल्काएको ओलीको भनाई छ । सहकारीहरुले कृषि क्षेत्रमुखी कार्यक्रमलाई थप प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ ।
आर्थिक रुपमा सामान्य आम्दानी भएका सदस्यहरुले आफ्नै घरमा बस्ने सपना पूरा गर्न मेची सहकारीले महत्पूर्ण योगदान गरेको ओलीको भनाई थियो । उनले सहकारीको माध्यमबाट सदस्यलाई घरधनी बनाउनु चानचुने कुरा नभएको बताए ।
सहकारी संस्थामा सबै सदस्यहरुले लाभ लिन सक्ने योजना निर्माण गरेर कार्यन्वयन गर्नुपर्ने भन्दै अध्यक्ष ओलीले सहकारीमा जोडिन आग्रह गरेका छन् । सहकारीले रोजगार निर्माण गर्दै जानुपर्ने समेत धारणा राखेका थिए ।
संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख खोमप्रसाद बगालेले मेची आवास क्षेत्रमा कूल ५७ वटा घरहरू निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।
एक विगाहा १८ कट्ठा जग्गामा कुल २२ करोड ८३ लाख रुपैयाँमा उक्त घरहरू निर्माण सम्पन्न गरिएको बगालेले सुनाए । शेयर सदस्यका लागि निर्माण गरिएको एउटा घरको मुल्य ४३ लाखदेखि ५१ लाख रुपैयाँसम्म परेको जनाइएको छ ।
हाल सो आवास क्षेत्रमा २६ शेयर सदस्यका परिवारले बसोबास गरिरहेको सो अवसरमा जानकारी दिइयो । सबै घर बिक्री भइसकेको पनि जनाइएको छ । मेची सहकारीले निर्माण गरेका २८ वटा घर खरिद कर्ताले पुरा रकम बुझाइसकेका छन् भने अन्यले किस्तामा खरिद गरेका छन् ।
किस्तामा घर खरिद गर्नेलाई १२।५ प्रतिशत व्याजमा २० वर्षे कर्जा लगानी गरिएको अध्यक्ष नारायण प्रसाद भट्टराईले जानकारी दिए । जमिनको क्षेत्रफलका आधारमा मुल्य फरक–फरक रहेको छ ।
Comments