Sajhamanch Archive

भद्रपुर नगरपालिकामा कागजी काम तीब्र तर सेवा प्रवाह कमजोर बन्दै

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह, by .

भद्रपुर । झापाको भद्रपुर नगरपालिकामा कर्मचारीतन्त्र हावी हुँदा कागज मिलाएर खाने प्रवृत्ति बढेर जाँदा नगरको विकास सुस्ताउँदै गए पनि जनप्रतिनिधिहरु रमितेमात्र बनेका नगरबासीले गुनासो गर्न थालेका छन् ।

कर्मचारीमा निर्भर भई नगरमा निर्वाचित नेतृत्व कमजोर हुँदै गएको फाइदा उठाउँदै कर्मचारीतन्त्रको मनोमानीमा कागजी कामले तीब्रता पाएर नगर क्षेत्र कमाइखाने भाँडो बन्दै गएको हो ।

नगरपालिकाका अधिकांश कर्मचारी अपारदर्शी शैलीमा आफ्नै तजविजका विभिन्न परियोजना मार्फत गोष्ठी सेमिनारको आयोजना गरी आफू आफू नै भत्ता बाँडेर खाने गरेको नगरबासीको बुझाई छ ।

वार्षिक कार्यतालिका र कार्ययोजनामा समेत कहीँ कतै नदेखिने कतिपय कार्यक्रम चोर बाटोबाट प्रवेश गराई भत्ता खानकै लागि कर्मचारीहरू मिलिभगतमा कागजी काममा व्यस्त रहँदा कार्यालयमा आउने सेवाग्राही कर्मचारी खोज्दै कार्यक्रमस्थल जानुपर्ने बाध्यता बढ्दै गएको जनगुनासो छ ।

कर्मचारी मात्र नभएर नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत समेतलाई कार्यलयमा नगरबासीले भेट्न निकै सकस पर्ने गरेको नगरबासीको अनुभव छ ।

विषयगत कार्यालयमा काम गर्ने अधिकांश कर्मचारी आफ्नै व्यक्तिगत लाभका कार्यमा घुम्ने गरे पनि नियन्त्रण नहुँदा विकृति बढ्दै गएको पाइन्छ । स्थानीयको गुनासो सुनवाइ नहुँदा विकृति मौलाउने वातावरण बन्दै गएको हो ।

उक्त विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीसँग जिज्ञासा राख्दा उनले नगरपालिकाका कर्मचारी नियमितरुपमा कार्यालयमा रहने गरेको भन्दै बचाउ गरेका छन् । उनले केही प्राविधिक कर्मचारी फिल्डको काममै रहे पनि अन्य कर्मचारी कार्यालयमा भेटिनेसमेत दावी गरेका छन् ।

जनगुनासोका सम्बन्धमा नगरप्रमुख गणेश पोखरेलसँग सोधिएको प्रश्नमा उनले प्राविधिक कर्मचारी बाहेक अन्य सेवाका कर्मचारीहरू कार्यालयमै बसेर सेवा प्रवाह गर्नुपर्ने दायित्व रहेकोले सो पालना गराउन आफू लाग्ने बताउँछन् ।

उनले आफू नगरबासीकै काममा बाहिर जाने गरेको प्रष्ट पार्दै दिनमा एकपटक कार्यालय जाने गरेको बताए ।

योजना, प्रशासन, शिक्षा, स्वास्थ्य, कृषि, पशुसेवा, सामाजिक सुरक्षा लगायत विषयगत कार्यालयबाट प्रवाह हुने सेवामा समेत नगरबासीले प्रश्न उठाउन थालेका हुन् । कमिशन या अतिरिक्त लाभ दिन असहमत सेवाग्राहीले चाहेको सेवा नै पाउन कठिन हुने गरेको गुनासो बढिरहेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *