संघाई ग्रुपलाई कर तिराउन ६ वटा पालिका सरकार कस्सिए
Published:
by .मेचीनगर । पूर्वका विभिन्न पालिकालाई नेपाल चिया विकास निगमले कर नतिरेको विषयमा आज मेचीनगर नगरपालिकामा ६ वटा पालिकाका प्रमुखहरुको बैठक भएको छ ।
नेपाल सरकारले नेपाल चिया विकास निगम र संघाई ग्रुपका पुरुषोत्तम लाल संघईलाई भाडामा दिइएको ६ वटा चिया बगानबाट हालसम्म कुनै पनि स्थानीय तहलाई कर नबुझाएको पाइएको हो । कर असुलीका लागि झापाको मेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिका, बाह्रदशी गाउँपालिका र इलामको सूर्योदय नगरपालिका, इलाम नगरपालिका तथा माई नगरपालिकाका प्रमुखहरुको बैठक सम्पन्न भएको हो ।
नेपाल सरकारले भाडामा व्यवसाय गर्न भनी दिएको जग्गाको सम्पत्ति कर, मालपोत र व्यवसाय कर नेपाल चिया विकास निगमले पटकपटक पत्रचार र ताकेता गर्दा पनि नतिरेपछि ६ वटा पालिकाका प्रमुखहरु संघाइ ग्रुप र नेपाल चिया विकास निगमलाई करको दायरामा ल्याउन ठोस कदम चाल्न एकीकृत भएर अगाडि बढ्ने विषयमा छलफल गर्नआजको बैठक आयोजना गरिएको मेचीनगरका प्रमुख गोपाल बुढाथोकीले बताएका छन् ।
बाह्रदशी चिया बगान, टोकला चिया बगान, बर्ने चिया बगान, कन्याम चिया बगान, सोक्तिम चिया बगान, चिलिङ्गकोट चिया बगान र इलाम चिया बगान ५० वर्षको लागि नेपाल सरकारले भाडामा दिएको थियो । ७ वटा चिया बगानहरुबाट विभिन्न ६ वटा पालिकाहरुले आफ्नो क्षेत्राधिकार भित्रको कर असुल्न विभिन्न निर्णयहरु गरेक छन् ।
आज भएको संयुक्त बैठकमा जग्गाको विवरण, पालिकाहरुले गरेको पत्राचारको विवरण, सम्पत्ति करको फारमको विवरण, सम्बन्धित मन्त्रालय र अर्थ मन्त्रालयमा गरेको पत्राचार तथा नेपाल चिया विकास निगमलाई गरेको पत्राचारको विवरण तयार गर्ने निर्णय गरेको छ ।
त्यस्तै हालसम्म कर नतिर्ने निगमलाई पुनः कर तिर्न पत्राचार गर्ने र त्यसको जनाकारी संघीय मामिला तथा कानुन मन्त्रालय मार्फत नेपाल सरकारलाई जानकारी गराउने निर्णय गरेको छ ।
त्यस्तै तत्कालीन श्री ५ को सरकार र निगमबीच भएको सम्झौतामा उल्लेख गरेको रकमदेखि हालसम्म तिर्नुपर्ने रकमको विवरण बनाउने र श्रमिक ऐन अन्तरगत श्रमिकहरुलाई पारिश्रमिक र अन्य सेवा सुविधा उपलब्ध गराउन सम्बन्धित मन्त्रालयलाई ध्यानाकर्षण गर्ने निर्णय बैठकले गरेको नगरप्रमुख बुढाथोकीले जानकारी दिए ।
पालिकाहरुको संयुक्त बैठकले ठोस निर्णयमा पुग्न गर्नुपर्ने अन्य प्रक्रियाहरुको लागि पनि तयार भएर लाग्ने साथै स्थानीय पालिकाहरुले नै उक्त चिया बगानहरु सञ्चालन गर्नुपर्ने अवस्था आए आफूहरु तयार रहेको समेत जानकारी दिइएको छ ।
Comments