संस्कार पढाउने विद्यालयका जग्गादाता सम्मानित
Published:
by .हल्दिबारी । हल्दिबारी गाउँपालिका वडा नं. ३ की सामाजिक अभियन्ता ईश्वरा तिवारी र खड्ग तिवारीले १० लाख रुपैयाँ मूल्यको एक कठ्ठा जग्गा बाल संस्कार केन्द्र सञ्चालनका लागि दान गरेका छन् ।
तिवारी दम्पत्तिले सो जग्गा जनकल्याण प्रतिष्ठान एकल विद्यालय अभियान नेपाललाई दान गरेका हुन् । जग्गादाता तिवारी दम्पत्तिलाई प्रतिष्ठानले शुक्रबार एक कार्यक्रमबीच हल्दिबारीको पाराखोपीमा सम्मान समेत गरेको छ ।
दाता परिवारलाई फूलमाला र अबिर लगाएर हल्दिबारी–३ का वडाध्यक्ष हरिप्रसाद ओली, अभियानका झापा अध्यक्ष शंकर भट्टराई र विश्व हिन्दू परिषद् झापाका अध्यक्ष होमनाथ ढुंगेलले सम्मान गरेका हुन् ।
प्रतिष्ठानका अध्यक्ष भट्टराईले प्रदेशमै पहिलोपल्ट बाल संस्कार केन्द्रका लागि जग्गा प्राप्त भएको भन्दै खुशी व्यक्त गरेका छन् ।
प्रतिष्ठानले झापाका २५ स्थानमा हिन्दू धर्म, संस्कार र नैतिक शिक्षा प्रदान गर्ने बाल संस्कार केन्द्र सञ्चालन गर्दै आएको भट्टराईले जानकारी दिएका छन् । अभियन्त पं. सोमनाथ सुबेदीले बाल संस्कार केन्द्र ६४ जिल्लामा सञ्चालन भइरहेको बताए ।
समाजसेवी सत्येन्द्र कर्णले स्वागत गरेको सो कार्यक्रममा अभियन्ताहरु पिताम्बर बराल, शिवप्रसाद दाहाल, भरत मैनाली, खिनामाया खनाल, मित्रलाल ढुंगाना लगायतको सहभागिता थियो ।
यसैबीच अर्जुनधारा नगरपालिका वडा नं. ६ मा स्थानीय अभिभावकहरुसँग जनकल्याण प्रतिष्ठान एकल विद्यालय अभियानले शुक्रबार नै अन्तरक्रिया सम्पन्न गरेको छ ।
सो वडाका अध्यक्ष हरिश्चन्द्र बाँस्तोलाले अभियानको सोच र कार्यक्रम समाजका लागि अति उपयोगी भएको जनाउँदै बालबालिकाहरुलाई असल संस्कार सिकाउने अभियानमा आफ्नो सँधै सहयोग रहने बताएका थिए ।
अर्जुनधारा–६ मा झापा र इलामका एकल विद्यालयका आचार्यहरुको सात दिने बर्गभेला चैत २१ गतेदेखि आयोजना हुने बताउँदै अध्यक्ष भट्टराइले त्यसमा सहयोग पुर्याउन सबैमा आग्रह गरेका छन् ।
Comments