Sajhamanch Archive

एनएमसी र विकूबीच भगिनी सम्बन्ध स्थापनाः पश्चिमका सहकारीमा एनएमसीको अवलोकन

Published: in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, सहकारी, by .

झापा । देशकै अग्रणी सहकारी संस्थाको रूपमा परिचित झापाको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) का अधिकृत कर्मचारीहरुले पश्चिममा रहेका सहकारी संस्थाहरूको अवलोकन भ्रमण गरेको छ । चैत १३ देखि १८ गतेसम्म संस्थाको कर्पाेरेट व्यवस्थापन समूहको टोलीले अध्ययन अवलोकन भ्रमण सम्पन्न गरेको थियो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीको नेतृत्वमा संस्थाका कर्पाेरेट विभागीय प्रमुख, व्यवसाय प्रमुख, क्षेत्रीय प्रमुख तथा सेवाकेन्द्र प्रमुखको सहभागिता रहेको थियो । देशमा विद्यमान आर्थिक मन्दी तथा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि भ्रमण फलदायी बनेको यात्रामा संलग्न सदस्यहरुको ठम्याई छ ।

विकू बचत तथा ऋण सहकारी संस्था (नवलपरासी)

२०७९ माघ १८ गते विकूको तर्फबाट सञ्चालक, पूर्व सञ्चालक, प्रमुख कार्यकारी अधिकृत लगायतको टोलीले एनएमसीको भ्रमण गरेको थियो । त्यसबेला नै एनएमसी तथा विकूबीच सहकार्य गर्ने गरी भगिनी सम्बन्ध स्थापनाका लागि छलफल अगाडि बढाइएको थियो ।

एनएमसीको सञ्चालक समितिको मिति २०७९ फागुन १० गते सम्पन्न बैठकबाट दुई संस्थाबीच भगिनी सम्बन्ध स्थापनाका लागि सैद्धान्तिक सहमतिका साथ मुलुककै दुई अग्रणी सहकारी संस्था बीच भगिनी सम्बन्ध स्थापना भएको हो ।

एनएमसीको टोलीलाई स्वागत गर्न विकूका सञ्चालक समिति अध्यक्ष ओमप्रसाद सापकोटा, लेखा सुपरीवेक्षण समिति संयोजक कमल सुवेदी, प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा दुई संस्थाका उच्च व्यवस्थापन बीच सहकारी अभियानका साथै व्यवस्थापनका विभिन्न पाटोका बारेमा छलफल भएको थियो । सो कार्यक्रममा बोल्दै विकूका अध्यक्ष ओमप्रसाद सापकोटाले दुई सहकारी संस्था बीच स्थापित भगिनी सम्बन्धले नेपालको सहकारी अभियानलाई अझ माथि पुर्याउन मद्दत गर्ने विश्वास व्यक्त गरेका थिए ।

वि.सं. २०४८ सालमा स्थापित विजय विकास केन्द्रद्वारा सञ्चालित विकू बचत तथा ऋण सहकारी संस्था देशकै अग्रणी सहकारीको रुपमा परिचित छ । २६ जना सदस्यबाट सुरु भएको विकूमा हाल आएर १ लाख २५ हजारभन्दा बढी सदस्य र २ सयभन्दा बढी कर्मचारी कार्यरत छन् ।

जनउत्थान बचत तथा ऋण सहकारी संस्था (रुपन्देही)

वि.सं. २०५९ साल असोजमा रुपन्देहीको टिकुलीगढमा ३१ जना सदस्यद्वारा स्थापित जनउत्थान बचत तथा ऋण सहकारी संस्थामा हाल करिब ४० हजार सदस्य रहेका छन् ।

एनएमसीको टोली संस्थामा पुग्दा संस्थाका सञ्चालक समिति उपाध्यक्ष गिरीप्रसाद पुन तथा व्यवस्थापक रनबहादुर थापाले एनएमसीलाई स्वागत गर्दै सहकारी अभियानमा एनएमसीले पुर्याएको योगदानको कदर गर्दै एनएमसीबाट मुलुकका सहकारीहरुले धेरै कुरा सिक्नसक्ने विचार व्यक्त गरेका थिए ।

हाल सहकारी अभियानमा देखापरेका चुनौतिको सामना सबै सहकारी मिलेर गर्नुपर्ने व्यवस्थापक थापाको मत रहेको थियो । सहकारी गान, निर्दिष्ट कर्जा लगानीको प्रावधान लगायतका छुट्टै विशेषतासहित आफ्नो पहिचान स्थापित गर्न सफल जनउत्थानले भिजन २०८८ को लक्ष्य निर्धारण गरी सोही अनुरुप कार्य गर्दै आइरहेको पाइएको छ ।

किसान बहुउद्देश्यीय सहकारी संस्था (कैलाली)

कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकामा केन्द्रीय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले बहुउद्देश्यीय प्रकृतिका कारण बचत तथा ऋणका अतिरिक्त कृषि तथा कोप मार्टको क्षेत्रमा समेत कार्य गर्दै आइरहेको छ । ८० हजारभन्दा बढी सदस्य रहेको किसानले आफ्नो ४० भन्दा बढी शाखाबाट सेवा प्रवाह गरिरहेको छ ।

संस्थाका सञ्चालक समितिका सदस्य साथै महाप्रबन्धक डम्बरबहादुर शाहले एनएमसीको टोलीलाई स्वागत गर्दै दुवै संस्था बहुउद्देश्यीय प्रकृतिका भएकाले दुवै संस्थाले व्यवसाय विविधिकरणका क्षेत्रमा काम गर्दै आएको हुँदा यसका चुनौति र अवसर बारे दुई संस्थाका बीच भविष्यमा पनि निरन्तर छलफल भइरहनु पर्ने आवश्यकता औंल्याएका थिए ।

नवजीवन सहकारी संस्था (कैलाली)

वि.सं. २०४८ ताका धनगढी बजारमा झापाका एउटा असहाय बालकको उद्धारका साथ उक्त बालकलाई नयाँ जीवन प्रदान गरेकाले नवजीवन सहकारी नाम रहेको सहकारी संस्थाको स्वीकृत कार्यक्षेत्र मुलुकभर रहेको छ । हाल ३२ हजारभन्दा बढी सदस्य रहेको नवजीवनका सञ्चालक समिति अध्यक्ष देवबहादुर बम, उपाध्यक्ष चेतराज ओझा र महाप्रबन्धक डम्बरसिंह गुरुङले एनएमसीको टोलीलाई सत्कारसहितको स्वागत गरेका थिए । एनएमसीको उच्च व्यवस्थापनको टोलीसँग कुरा गर्दै अध्यक्ष बमले सहकारीमा आएको विद्यमान चुनौतिलाई पार गर्न सहकारी संस्थाहरुले हातेमालो गर्नुपर्ने आवश्यकता औँल्याए ।

उदयदेव बहुउद्देश्यीय सहकारी संस्था (कञ्चनपुर)

सुदुरपश्चिम नेपालको कञ्चनपुर जिल्लामा केन्द्रीय कार्यालय रहेको उदयदेव सहकारी संस्थाको तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेशबहादुर चन्दले एनएमसीको टोलीलाई स्वागत गर्दै बहुउद्देश्यीय प्रकृतिका दुई संस्था बीचको सहकार्यको आवश्यकता माथि जोड दिएका थिए ।

मुलुककै सहकारी अभियानमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको एनएमसीले देशका अन्य सहकारी संस्थासँगलाई साथ लिएर सहकारी अभियानलाई अगाडि बढाउनु पर्ने उनको तर्क थियो । कृषिको क्षेत्रमा समेत काम गर्दै आएको उदयदेव सहकारीले सुदुरपश्चिमका ४ वटा जिल्लाका ११ वटा सेवाकेन्द्र मार्फत सदस्यहरुलाई सेवा प्रवाह गर्दै आइरहेको छ ।

धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन

देशकै अग्रणी सहकारी संस्थाहरुको अवलोकनका साथै एनएमसीको उच्च व्यवस्थापन टोलीले यात्राका क्रममा केही धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन समेत गरेको थियो । भरत ताल सर्लाही, लुम्बिनी धार्मिक तथा पर्यटकीय स्थल, ठाकुरद्वारा बर्दिया, दोधारा चाँदनी पूल महाकाली, कर्णाली पूल चिसापानी र चितवनको सौराहासम्म टोलीले अवलोकन भ्रमण गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *